नयाँ रकेट ठूलो परमाणु अस्त्र बोक्न सक्षमः उत्तर कोरिया



सोल (एजेन्सी)
उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परिक्षणलाई लिएर उक्त नयाँ रकेट ठुलो परमाणु अस्त्र बोक्न सक्षम भएको दावी गरेका छन् ।

आकास तर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र २ हजार किलोमिटरको उचाइसम्म पुगेको जनाइएको छ । ७ सय किलोमिटरको दुरी तय गरेपछि उक्त क्षेप्यास्त्र जापानको पश्चिम सागर तटमा खसेको थियो । उत्तर कोरियाले सोमबार यो परिक्षण ‘नयाँ विकसित ब्यालिस्टिक रकेटको क्षमता‘ परिक्षणका लागि भएको बताएको छ ।

संयुक्त राष्ट प्रतिबन्धको अर्को उलंघन गरिएको यस क्षेप्यास्त्र परिक्षणको विश्व भरी आलोचना भएको छ । यो बर्ष उत्तर कोरियाले पटक पटक क्षेप्यास्त्र परिक्षण गरी सक्यो । यसले अमेरिकासँग उसको तनावलाई बढाएको छ भने विश्व भरी चिन्ताको परिस्थिति सिर्जना गरेको छ ।

यद्यपी उत्तर कोरियाको सबै परमाणु परिक्षण सफल भएको छैन । अमेरिका र जापानले मंगलबार संयुक्त राष्ट सुरक्षा परिषदको आपतकालिन बैठक बोलाइएको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले सोमबार नयाँ विकशित ह्वासांग–१२ को परिक्षण योजना अनुसार सफल रहेको जनाएको छ । ह्वांसांग–१२ मध्यम तथा लामो दुरीसम्म प्रहार गर्न सक्ने रणनितिक रुपमा महत्वपुर्ण ब्यालेस्टिक रकेट हो ।

उत्तर कोरिया परमाणु हतियार तथा त्यसलाई निसानासम्म पुर्याउने क्षेप्यास्त्रको विकासमा जोडतोडले लागेको छ । यो सबै गतिविधि संयुक्त राष्ट संघको प्रतिबन्धका बावजुद भइरहेको छ ।

तर रकेटमा जडान गर्न सक्ने खालको हतियार विकास गर्ने क्षमता उत्तर कोरियासँग रहेको वा नरहेको भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । उत्तर कोरियाले अहिले सम्म अन्तरमहाद्विपिय ब्यालिस्टिक क्षेप्यास्त्र वा आइसीबीएमको परिक्षण गरेको छैन । यसको निसानाको पहुँच अमेरिकासम्म हुनेछ ।

अन्तरमहाद्विपिय ब्यालिस्टिक क्षेप्यास्त्रले ६ हजार किलोमिटरको दुरीसम्ममा प्रहार गर्ने क्षमता राख्छ । तर विज्ञहरुले आइतबार उत्तर कोरियाले परिक्षण गरेको क्षेप्यास्त्र सिधा आकासमा प्रहारको तुलनामा जमिनसँग समानान्तर प्रहार भएमा ४ हजार किलोमिटरसम्म पुग्न सक्ने बताएका छन् ।

उत्तर कोरियाली सासक किम जोंग उनले अमेरिकाले सहि फैसला नलिएसम्म वैज्ञानिकहरुलाई लापरवाही नहुन र परमाणु हतियारमाथि उनीहरुको काम जारी राख्न आदेश दिएको पनि जनाइएको छ ।

यसअघि अमेरिकाको तर्फबाट सहि परिस्थितिमा उत्तर कोरियासँग वार्ता गर्ने बताएका थिए । तर आइतबार संयुक्त राष्ट संघमा अमेरिकी राजदुत निकी हेलीले किम जोंग उनले अमेरिकी सर्त पुरा नभएसम्म वार्तामा नबस्ने प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्