नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोमा



काठमाडौं, (नेस)
भारतमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो खेलाडीको बिदाइ गरिएको छ।

भारतको अमृतसरमा मे १९ देखि २१ सम्ममा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोली सहभागी हुँदै छ। चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्षसमेत रहेका रोशन खानको प्रशिक्षणमा ११ पुरुष खेलाडीले अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्दै छन्।

च्याम्पियनसिपमा सहभागिता जनाउन लागेका खेलाडी चितवनका हुन्।
च्याम्पियनसिपमा पुरुषतर्फ आशिष सुवेदी (३२ केजी), सब्बिर रावल (३८ केजी), उस्मान कार्की (४० केजी), प्रवेश पण्डित (४५ केजी), शीतल प्रजा (४८ केजी) र मोहम्मद उमर खान (५० केजी) ले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै अब्बास खान (५२ केजी), सागर तामाङ (५८ केजी), दीपेन्द्र नेपाली (६३ केजी) र मोहम्मद कलिममुल्लाह मियाँ (६८ केजी) ले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्।
त्यस्तै प्रशिक्षक खानले राम्रै तयारीका साथ अन्तर्राष्ट्रिय सहभागिता जनाउन लागेकाले खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले भने– ‘हामीसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्दै स्वर्ण पदक दिलाएका खेलाडी पनि जाँदै छन्, त्यसैले पनि आगामी प्रतियोगिता राम्रै हुने आशा छ।’ उक्त टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्