दोलखामा यस्तो भएको हो



आइतबारको चुनावमा दोलखामा बुथ कब्जासम्बन्धी समाचार विभिन्न सञ्चार माध्यममा आए पनि यथार्थ भने अलि फरक रहेको छ। दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं.१ घटनाका वास्तविकतामा केही फरक भएको छ। म घटनास्थलमै भएको हुनाले केही लेख्ने प्रयत्न गरेको छु। चुनावको दिन बिहानदेखि नै कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भइरहेको थियो। स्थिति तनावग्रस्त भएपछि २ बजेतिर प्रहरी फोर्स थपिएको थियो। त्यसपछि थप विवाद हुन थाल्यो। त्यसलगत्तै कांग्रेस कार्यकर्तालाई एमाले कार्यकर्ताले जिस्क्याउन थालेपछि त्यहाँ भनाभन र भागदौडको अवस्था सिर्जना भयो।

विवाद बढेपछि प्रहरीले १ सय राउन्डभन्दा बढी गोली चलायो। भागेका सर्वसाधरणमाथि पनि प्रहरीले गोली चलायो। एकजनाको ज्यान गयो, १५ जना घोइते भए। प्रहरीले ज्यादतिपूर्ण तरिकाले गोली चलाएको थियो। नियन्त्रणमा लिन सक्ने अवस्था थियो त्यहाँ। तर प्रहरीले सिधै गोली चलाएर मान्छे मारेको छ। घटनाको चरित्र हेर्दा प्रहरी पनि सुनियोजित ढंगमा लागेको देखिएको छ। स्थिति नियन्त्रणमा हुने अवस्था हुँदाहुँदै गोली चलाउनुपर्ने अवस्था थिएन। दलहरूबीच भएको विवादमा छानीछानी कांग्रेसलाई गोली हानिएको देखिएको छ।

कसैले बुथ कब्जा गरेको होइन। भागदौडमा सबै दौडेपछि मतपेटिका कुल्चने र फुट्ने अवस्था आएको हो। माओवादी, कांग्रेस र एमालेबीच विवाद हुँदा मतपेटीका फालिएका थिए। प्रहरी निरन्तर कांग्रेसमाथि खनिनुमा कतै न कतै एमालेसँगको मिलेमतो देखिएको छ। घटनामा सबै जिम्मेबार थिए तर नागरिक मार्ने प्रहरीको यो कृयाकलाप निन्दनीय छ। मेरो तर्फबाट हेर्दा गोली चलाउनुपर्ने अवस्था भने थिएन।

गोली चलाएको समयमा कांग्रेस जिल्ला सभापति मतदान गर्न पुग्नुभएको थियो। उहाँ त्यहाँ पुग्नै लाग्दा एमालेका कार्यकर्ताले हुलमुल गरे। नेतालाई सुरक्षा दिने भन्दै कांग्रेस कार्यकर्ता मतपेटिका नजिक पुगेका थिए। मतपेटिका नजिक पुग्दा प्रहरी उनीहरूमाथि जाइलागेको थियो। घटनाले गम्भीर मोड लिएपछि मतपेटिका फुटाउने, मतपत्र जलाउनेसम्मका घटना भए। ६ वटै मतपेटिका जलाएपछि निर्वाचन स्थगित नै भयो। यो विषयमा सरकारले छानविन गरेर दोषीलाई कारबाही गर्न जरुरी छ।
– रामकृष्ण केसी, दोलखा
आलुको उचित मूल्य पाइएन
आलुको उचित मूल्य नपाउँदा हामी किसान मर्कामा परेका छौं। यहाँको बजारमा भारतबाट आलु आयात गरिएपछि मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको छ। उचित मूल्य नपाएपछि हामी किसानले उत्पादन गरेको आलु बिक्री भएन। हामी आलु थन्काएर राख्न बाध्य भएका छौं। अहिले आलु प्रतिकिलो १४ रुपियाँमा समेत बिक्री हुन छाडेको छ। उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ। हामीले उत्पादन गरेको आलुको तुलनामा भारतीय आलु सस्तो भएपछि हामी समस्यामा परेका छौं। अहिले स्थानीय आलुले बजार पाउन सकेको छैन। २० देखि २५ रूपियाँ सम्ममा बिक्री भएको आलुको अहिले विजोग अवस्था छ। गत वर्ष २० क्विन्टल आलु उत्पादन भएको जग्गामा यस वर्ष २४ क्विन्टल उत्पादन भयो। उत्पादन भएर मात्रै भएन यहाँ मूल्य नपाएर हाम्रो आलु सड्न थालेको छ। हामीले उत्पादन गरेको आलुको उचित मूल्यका लागि सरकारी स्तरबाट केही सहयोग भए हाम्रो उठिबास लाग्ने थिएन।
भगवती महरा, दाङ
राष्ट्र वैंकको राम्रो काम
बैंकमा चेक साटेर नगद निकाल्दा १० लाख रूपियाँभन्दा बढी नपाइने हुनु राम्रो छ। राष्ट्र बैंकले २० लाखभन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक ताथ वित्तीय संस्थालाई परिपत्र गरेको छ। गत वर्ष ५० लाख रूपियाँसम्म चेक साट्न सकिने व्यवस्थालाई केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो सीमालाई ३० लाखमा झार्ने प्रस्ताव गर्नु राम्रो छ। राष्ट्र बैंकले गत भदौ ८ मा परिपत्र गरेर ५० लाखको सीमालाई ३० लाखमा झारेको खबर विभिन्न सञ्चारमाध्यममा आएको थियो। परिपत्रको ९ महिना नबित्तै वैशाख २८ मा अर्को परिपत्र गरेर १० लाख रूपियाँको सीमा लगाएको छ। यो विषय राम्रो छ। यसबाट कालोधनको कारोबारका बारेमा अनुसन्धानमा सहयोग पुग्छ। यस्तो निर्णयले नगद कारोबारमा कमि आउने पनि देखिएको छ। यसलाई पालना गराएर जानुपर्दछ।
चिरञ्जीवी शर्मा, पोखरा
व्यवसायमा सफल हुने काइदा ं
व्यापार, व्यवसाय र सानोतिनो उद्योगमा सफलता कसरी पाउने ? यसका लागि विभिन्न टिप्स छन्। हामी कुनै पनि काम गर्नका लागि उपयुक्त अवसर खोजिरहेका हुन्छौं। तर, कुनै पनि काम गर्नका लागि वा कुनै पनि उत्पादन पस्कनका लागि जहिले पनि अवसरले पर्खिरहेको हुन्छ। बजारमा अरु उत्पादनसँग गुणस्तरमा त प्रतिस्पर्धा गर्नुपर्छ नै, मूल्यसँग पनि गर्नुपर्दछ। यदि सोही गुणस्तरको, सोहि मात्राका कुनै पनि उत्पादन सस्तो मूल्यमा उपलब्ध भएमा उपभोक्ताले तपाईको सामग्री नै खोज्नेछन्।

किनभने उपभोक्ताका लागि मूल्यको पनि महत्व हुन्छ। आफ्नो उत्पादनको बजारीकरण वा सफलताका लागि तपाईं उपभोत्तामैत्री हुनु आवश्यक छ। यदि उपभोक्ताको हित र फाइदा सोच्नु भयो भने स्वतः सफल हुन्छ। उपभोक्ताबाट जतिसक्दो लिने होइन, उनीहरूलाई दिने हो। गुणस्तरीय सामग्री, उचित मूल्यमा उपलब्ध गराउने हो भने उपभोक्ता मारमा पर्दैनन्।
सुदिप शर्मा, नेपालगन्ज

प्रतिक्रिया दिनुहोस्