म्याग्दीको बेनपा–१ मा एमाले विजयी



नेपाल समाचारपत्र, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टेकबहादुर रावलले ६३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छविलाल श्रेष्ठले ४०९ मत प्राप्त गरेका छन् ।
यसैगरी वडाको महिला सदस्य पदमा गौरी थापामगर ६०८ र दलित महिला सदस्यमा जमुना नेपाली ६५१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ । त्यस्तै खुल्ला सदस्यतर्फ टेकबहादुर थापा ६२३ र ताराप्रसाद थापा ५९३ मत प्राप्त गरेको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।
आइतबार राती ११ बजेबाट शुरू गरिएको मतगणनाको सोमबार प्राप्त अपराह्न अन्तिम मत परिणामअनुसार बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रमोद श्रेष्ठले ७७८ र नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले ४५८ मत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । उपप्रमुखमा राप्रपाकी सञ्जु थापा बरुवाल ७१६ र नेकपा माओवादी केन्द्रका ज्योती लामिछानेले ३६५ मत प्राप्त गरेकी छन् ।
अहिले बेनपा २ को मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले र राप्रपाले चुनाबी तालमेल गरी निर्वाचनमा होमिएका हुन् । म्याग्दीको चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भएको बताइएको छ ।
उता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा पनि नेकपा एमालेको वडाध्यक्षका उम्मेदवार दिलिपकुमार गर्बुजा नेतृत्वको प्यानल विजयी भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त गाउँपालिको प्रमुख र उपप्रमुखमा पनि एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
यसैबीच हिमालपारीको जिल्ला मुस्ताङमा पनि आज बिहान ८ बजेदेखि पाँचवटै गाउँपालिकाको मतगणना शुरु गरिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताउनुभयो । मुस्ताङको नतिजा भने सोमबार साँझसम्म आउन सक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्