राष्ट्रपति भण्डारीद्वारा बुद्ध मन्दिरको दर्शन



कोलोम्बो (श्रीलङ्का), १ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको कोलोम्बोस्थित केलानिया मन्दिर गई बुद्धको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी मन्दिर पुग्दा केलानिया राजा महाविहारका प्रमुख महिन्द सङ्गराक्किथा तथा मन्दिरका प्रमुख बसनायके निलामलगायतले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा विहारका प्रमुख सङ्गराक्किथाले मन्दिरको ऐतिहासिक पृष्ठभूमि र महत्वलगायत विविध पक्षबारे जानकारी गराउनुभयो ।

राष्ट्रपतिको भ्रमणदलमा रहनुभएका सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारीलगायतको सहभागिता थियो । राष्ट्रपति भण्डारी आजै श्रीलङ्काका महिला तथा बालबालिका मन्त्रालयले आयोजना गर्ने महिला सशक्तीकरण कार्यक्रममा सहभागी हुनुहुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्