उत्साहवद्र्धक निर्वाचन



मुलुकका३४ जिल्लामा आइतबार भएको स्थानीय निर्वाचनका क्रममा केही स्थानमा छिटफुट घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको छ । केही स्थानमा भने केही नराम्रा घटना भएका छन् । घटनाको प्रकृति हेर्दा त्यसखालको अवस्था उत्पन्न हुनै नपर्ने हो । तर, राजनीतिक दलका स्थानीय कार्यकर्ताको असहिष्णु कृयाकलापले ती घटना हुन पुगेको प्रारम्भिक रूपमा जानकारीमा आएको छ । खासगरी दोलखा र सिन्धुपाल्चोकमा भएका घटना राजनीतिक पार्टीका स्थानीय संयन्त्रको गैरजिम्बेवारीका कारण सिर्जित घटना हुन् ।

त्यसैले आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई बेलैमा प्रशिक्षित गर्नुपर्दछ। चुनाव जनताको नैसर्गिक अधिकार हो । त्यसैले यसखालको निर्वाचनमा जनतालाई सहज वातावरण बनाउनेतर्फ प्रशासन तथा राजनीतिक दलहरू सहयोगी बन्नु जरुरी हुन्छ । उत्तेजक वातावरण सिर्जना गर्न खोजियो भने त्यसले प्रत्युदपादक घटना निम्त्याउन सक्छ ।त्यसैले यस्ता घटनालाई आगामी दिनमा शून्यमा झार्न सबै पक्ष लाग्नुपर्दछ ।

विभिन्न शंका र उपशंका तथा मौसमको चुनौतीका बाबजुद् हिजो जे जसरी मतदान भएको छ र जति प्रतिशत मतदान हुन सकेको छ त्यो आफैंमा उत्साहजनक रहेको छ । हतार— हतार गरिएको यो निर्वाचन यतिसम्म उत्साहजनक रूपमा सम्पन्न गर्नु भनेको सरकार, राजनीतिक दल, तथा निर्वाचन आयोग सबैले सफलताका रूपमा लिनुपर्दछ । अझ निर्वाचन आयोगले छोटो समयका बाबजुद यति काम गर्न सक्नु निकै महत्वपूर्ण कुरा हो । आयोगबाट आगामी निर्वाचनहरूमा पनि यस्तै भूमिका खेल्ने हो भने आगामी निर्वाचनहरू पनि निर्धारित समयमा नै सम्पन्न हुने कुरामा कुनै शंका गर्नुपर्दैन ।

आगामी माघ ७ गतेभित्रै दोस्रो चरणको स्थानीय निर्वाचनसमेत ३ वटा निर्वाचन गर्नुपर्नेछ । त्यसकारण पनि आगामी निर्वाचनहरूमा अहिले देखिएका कमीकमजोरीलाई सच्याउनेतर्फ सबैजना लाग्नु जरुरी रहेको छ । खास गरी मतदाता शिक्षालगायतका कुरामा कमजोरी देखिएका छन् । आगामी दिनमा सच्याइनुपर्दछ। जसरी यो निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ यसबाट आगामी दिनमा अन्य निर्वाचनपनि सहज ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ । पहिलो चरणको निर्वाचनमा सफलताले गर्दा सरकारी निकाय र निर्वाचन आयोगको पनि छोटो समयमा पनि निर्वाचन गराउने क्षमता रहेछ भन्ने कुरा पनि पुष्टि भएको छ । यो हामी सबै नेपालीका लागि खुसीको कुरा हो ।

निर्वाचन भनेको आवधिक रूपमा गर्नुपर्ने एक खालको पर्व हो। यो तोकिएको निश्चित समयमा सम्पन्न गर्न सकिएमा नै जनताले आफूले चाहेको व्यक्ति वा पार्टीलाई आवधिक रूपमा छनोट गर्ने अवसर प्राप्त गर्न सक्छन् । तर, हिजो पहिलो चरणमा भएको निर्वाचन करिब २० वर्षपछि गरिएको छ । २० वर्षको अवधीमा एउटा पुस्ता सार्वजनिक जीवनबाट बाहिरिसकेको अवस्था रहेको छ भने नयाँ पुस्ता सशक्त ढंगले अगाडि आइरहेको छ । त्यसैले, यी कुरालाई समिक्षा गर्दै भावी नेपाल समृद्ध र वैभवयुक्त बनाउन अब हामी सबै लाग्न जरुरी रहेको छ ।

जनतालाई सार्वभौमसत्ता सम्पन्न भन्ने गरिए पनि जनताको त्यो अधिकार निर्वाचनको बेलामा मात्रै आकर्षित हुने गरेको छ । आफू निर्वाचित भएर गइसकेपछि जनतासँग नेताको सम्पर्क टुट्ने अवस्था आउनुभनेको आवधिक निर्वाचन नभएका कारणले नै हो । त्यसैले, आगामी दिनमा आवधिक रूपमा निर्वाचन गर्नका लागि पनि अब सबै पक्ष उत्तिकै जिम्बेवार भएर लाग्नु जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्