तरकारीको मूल्य बढ्यो



नेपाल समाचारपत्र
काठमाडौं
अघिल्लो २ महिनाको तुलनामा वैशाख महिनामा तरकारीको मुल्यमा वृद्धि भएको छ। कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो १ महिनाको अवधिमा मात्र ३० देखि ७० प्रतिशतसम्म तरकारीको मुल्य बढेको छ।

आन्तरिक उत्पादकत्व घटेको, माग अनुसार सहज आपुर्ती हुन नसकेको तथा भारतबाट आयात हुँदा तरकारी तथा फलफुलको मुल्य बढेकाले तरकारीमा उच्च मुल्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशन तेजेन्द्र पौडेलले बताउनु भयो। नेपाल समाचारपत्रसंग कुरा गर्दै पौडेलले भन्नुभयो ‘अहिले सुख्खा समय र तरकारी उत्पादनका लागि बेमौसम भएकाले मुल्य बढेको हो। अहिले आन्तरिक रूपमा मात्र नभई आयातित तरकारीमा पनि मुल्य बढेको छ।’

गत माघ र फागुनमा दैनिक ८ सय मेट्रिक टन तरकारी कालिमाटी भित्रिने गरेकोमा चैत र बैशाखमा ६ सय मेट्रिक टन भन्दा कम मात्रै तरकारी आयात हुने गरेको समितिको तथ्यांकले देखाएको छ। वार्षिक बजार माग अनुपातमा भारतीय बजारबाट आउने गरेको तरकारीको मात्रा घटेको देखिएपनि वस्तुको परिमाण भने बढ्दो क्रममा छ। समितिको तथ्यांक अनुसार दैनिक ७ सय टन तरकारी तथा फलफूल बजारमा आउने गरको र त्यसमा तरकारीको हिस्सा ८६ प्रतिशत रहेको छ।

उपत्यकाको फलफुल तथा तरकारीको ४५ प्रतिशत माग धान्दै आईरहेको आयातित वस्तुहरूमा मुल्य बढेपछि त्यसको असर उपत्यकामा देखिएको हो। गत चैत अन्तिम सातासम्म ३५ रुपियाँ प्रतिकिलो मुल्य रहेको ठुलो गोलभेडाको मुल्य बैशाख अन्तिम सातासम्म बढेर प्रतिकिलो ६५ रुपियाँ पुगेको छ। सानो गोलभेडाको मुल्यमा पनि ८० प्रतिशतसम्म वृद्धि भएर प्रतिकिलो ५५ रुपियाँ पुगेकोछ। रातो आलुको मुल्य २३ रुपियाँ बाट बढेर ३५ रुपियाँ प्रतिकिलो पुगेको छ। गाँजरको मुल्यमा एक महिनाको अवधिमा नै २५ रुपियाँले वृद्धि भएको छ। काउली, भण्टा, बन्दा, सिमी, घिरौला फर्सी लगायतका तरकारीहरूमा ३० देखि ८० प्रतिशत सम्म मुल्य वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्