छुद्रग्रहमा झुन्डिएर आकाशमा उडिरहने भीमकाय गगनचुम्बी



न्युयोर्क, (एजेन्सी)
वैज्ञानिकहरू अहिले अद्भूत भवनको निर्माण गर्ने सोचमा छन्। यो अहिले विश्वका ठूला शहरहरूमा निर्माण भएका चिल्ला गगनचुम्बीभन्दा फरक हुनेछ। यो विश्वको सबैभन्दा अग्लो त हुन्छ नै तर यो अनौठो भवन पृथ्वीमा अडेको हुने छैन। यो पृथ्वीको परिक्रममा रहने कुनै एउटा छुद्रग्रहमा झुण्डिरहेको अवस्थामा आकाशमा कावा खाइरहेको हुनेछ।

एउटा आर्किटेक्चर फर्मले ल्याएको यो अनौठो सोचका विषयमा इन्डिपेन्डेन्टडटसीओडटयूकेले समाचार सामग्री प्रकाशित गरेको हो। यो एनलेमा टावर पृथ्वीको सतहभन्दा ३१ हजार ६९ माइल करिब ५० हजार किलोमिटर दूरीमा रहने छुद्रग्रहमा बलियो तारको सहयोगमा झुण्डिएको हुनेछ। छुद्रग्रहको कक्षीय मार्गअनुसार टावर पनि न्युयोर्क, हवानासहित कयौं शहरमाथि उडिरहनेछ।
यो अद्भूत डिजाइन क्लाउड्स आर्किटेक्चर अफिसले तयार गरेको हो। यो त्यही कम्पनी हो जसले ‘हाउस अन मार्स’ र क्लाउड सिटीको अवधारणा तयार पारेको थियो। यस प्रकारका अद्भूत संरचनाको परिकल्पनामा यो कम्पनीले अरूलाई पछाडि पारेको छ।

आकाशबाट धर्तीतर्फ बन्ने यो टावरले स्काइस्केपर्सको धारणालाई पूरै परिवर्तन गर्ने उक्त कम्पनीको दाबी छ। कम्पनीको प्रस्तावमा यो भवन दुबईमा बनाउन सुझाएको छ। किनभने अमेरिकाको तुलनामा अत्यन्त कम खर्च हुन्छ।

एनलेमा टावर हिस्सामा हुनेछ। पृथ्वीको सबैभन्दा नजिकको हिस्सामा मनोरञ्जन, सपिङ र डाइनिङका लागि हुनेछ। यसको माथिल्लो हिस्सा कार्यालयका लागि हुनेछ। यसको बीचको हिस्सामा बगैंचा र अन्य घरका लागि राखिनेछ। यस टावरमा पूजाका लागि पनि ठाउँ हुनेछ र सबैभन्दा माथि अन्त्येष्टिको हिस्सा हुनेछ।

यो टावरमा बिजुली आपूर्ती अन्तरिक्षमा रहेको सोलार प्यानलबाट हुनेछ र पानी वर्षा र बादलबाट हुनेछ। यो गगनचुम्बी यति अग्लो हुनेछ, यसको तल्लो हिस्साको तुलनामा माथिल्लो हिस्सामा दिन ४५ मिनेट लामो हुन्छ।

भवनको माथिल्लो हिस्सामा बस्नेका लागि बाहिरको दृश्य धेरै नै रमणीय हुने भए पनि उनीहरू प्रोटेक्टिभ सुट (सुरक्षित पहिरन) लगाएर मात्र बाहिर निस्कन पाउनेछन्। किनभने करिब ३२ हजार मिटर उचाइमा करिब भ्याक्युमको जस्तो परिस्थिति हुनेछ र तापमान पनि माइनस ४० डिग्री हुनेछ।

कम्पनीको मान्यता के हो भने भविष्यमा छुद्रग्रहमाथि मानव नियन्त्रण सम्भव हुनेछ र उसको दिशा परिवर्तन पनि सम्भव हुनेछ। उसको यो विश्वासको पछाडि युरोपेली स्पेस एजेन्सीको रोसेटा मिसनको ठूलो हात छ। यस अभियानमा कुनै छुद्रग्रहमा अवतरण सम्भव छ भन्ने तथ्य प्रमाणित भयो। यसैबीच नासाले पनि कुनै एउटा छुद्रग्रहलाई कब्जामा लिएर त्यसलाई चन्द्रमाको एउटा स्थायी कक्षमा पुनःस्थापित गर्ने अभियानको योजना बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्