अपेक्षा भन्दा बढी मतदान हुन्छ – प्रधानमन्त्री



चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको छ ।

मतदानपछि प्रतिक्रिया दिँदै दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”

पत्रकारहरुको एक प्रश्नमा उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको बताउनुभयो ।
मतदानका लागि उहाँ शनिबार परिवारसहित यहाँ आउनुभएको हो । उहाँका छोरी रेणु दाहाल र गङ्गा दाहालले पनि सोही केन्द्रबाट मतदान गर्नुभएको छ । श्रीमती सीता दाहालको भने शिवनगरस्थित निमावि शान्तिपुरमा केन्द्र परेकाले केहीबेरमा मतदान गर्दै हुनुहुन्छ ।

माओवादी केन्द्रका अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दै हुनुहुन्छ । जिल्लाको अर्काे नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मतदान गर्दै हुनुहुन्छ । उहाँले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नुहुनेछ । एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

यसैगरी जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष साध्यबहादुर भण्डारीले भरतपुर महानगरपालिका वडा नं १ को बालकुमारी कन्या स्कुल केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

जिल्लामा सात प्रमुख पदमा ६९ र उपप्रमुख पदमा ५५ जनाले उम्मेदवारी परेको छ । जिल्लामा कुल मतदाता तीन लाख १३ हजार दुई रहेका छन् । जिल्लाका ५०४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्