निर्वाचनप्रति कलाकर्मीको उत्साह



विदुर गिरी

२ दशक लामो अन्तरालपछि आएर बल्ल आज स्थानीय तहका लागि पहिलोचरणको निर्वाचन हुँदै छ। लामो समयको अन्तरमा हुन लागेको यो निर्वाचनलाई लिएर जनताजस्तै कलाकर्मी पनि उत्साहित छन्। सुनौं कलाकर्मीकै मुखबाटः

जनता सचेत हुनुपर्छ

मदनकृष्ण श्रेष्ठ

स्थानीय तहको चुनाव नभएका कारण वर्षाैंदेखि देश अगाडि बढ्न सकेको छैन। सरकारको स्पिड नै स्लो भइरहेको छ। वडा, नगर वा गाविसमा सविच खटाइएको छ। उनीहरुको जनप्रनिनिधिको जस्तो दायित्व र उत्तरदायित्व हुँदैन। सचिव भनेको जागिरे हुन्। जनप्रतिनिधि चाहिँ स्थानीय जनताप्रति उत्तरदायी हुन्छ। भूकम्पले क्षति पुर्याएको समयमा पुनर्निर्माण र राहतको काम स्लो हुनुको एउटा कारण यो पनि हो। स्थानीय तहमा जनप्रतिनिधि नहुँदा हरेक काम प्रभावित हुँदै आएको छ। त्यसैले आज हुन लागेको स्थानीय निर्वाचन ठूलो कुरा हो। यसमा सबैले उत्साह देखाएका छन्। अब स्थानीय तहमा राम्रो मान्छे खोज्नुपर्छ।

आश्वासन दिएर काम नगर्नेलाई चिन्नुपर्छ। पार्टी कि व्यक्ति राम्ररी सोचेर छान्नुपर्छ। मासु वा एक पेग खुवाएको भरमा भोट दिने मनस्थितिबाट माथि उठ्नुपर्छ। पद पायो र अवसर पायो भने देशै बिर्सने खालका छन् नेताहरु। त्यसैले जनता यसमा सचेत हुनुपर्छ। नेताले पनि विदेशको होइन आफ्नै देशको छोराको हिसाबले काम गर्नुपर्छ। राम्रो नेतालाई छान्ने वा मार्ग निर्देशन गर्ने भनेकै यही मौका हो। अझ ४ प्रदेशको निर्वाचन हुन त बाँकी नै छ। त्यहाँ के हुने हो चिन्ताको विषय छ। जसरी भए पनि सबै प्रदेशमा राम्ररी निर्वाचन होस्। देशलाई मर्का नपरोस्। जनता कति सचेत भए भन्ने यो परिणामले थाहा हुन्छ।

पुस्ता हस्तान्तरण हुनुपर्छ

भुवन केसी

सुटिङको कारणले मेरो त चुनाव नै यही भइरहेको छ। धेरै कुरा हेर्न बुभ्mन पाएको छैन, तर भोट हाल्न त जान्छु। आज हुन लागेको स्थानीय निर्वाचन जनताका लागि आफ्नो क्षेत्रमा नेता छान्ने सुनौलो अवसर हो। यसलाई गम्भिरतापूर्वक लिनुपर्छ र हाम्राभन्दा पनि राम्रा मान्छे छान्नुपर्छ। भाषण सुनेर वा सुनाएर मात्र हुँदैन। नेपाललाई स्विजरल्यान्ड बनाइदिन्छु, हराभरा बनाइदिन्छु भन्नेहरु धेरै देखिए। तर त्यस्तो हुन सकेन। यो कुरामा सबैले विचार पुर्याउनुपर्छ। भोट हाल्दा पार्टी विशेषलाई नभइ योङलाई छान्नुपर्छ। बुडाखाडाको अब काम छैन, उनीहरुले अब गाइड गरेर बसे राम्रो हुन्छ। मैले आपैmँ हिरो हुन सक्ने हुँदाहुँदै छोरालाई हिरो बनाएर गाइड गरे जसरी बुढा नेताहरुले पनि पुस्ता हस्तानरण गरेर मार्गनिर्देशक बनेर बस्नुपर्छ। यिनै आए भने नेपालीको सपना कहिल्यै पूरा हँुदैन। यत्रोपछि स्थानीय चुनाव हुनु देशकै लागि दुर्भाग्यको विषय हो। तर ‘देरशे आया दुरुस्त आया भइदियोस्, देरशे आया फिर अँधेरा आया’ नहोस्।

संसद्को भन्दा ठूलो चुनाव हो यो

हरिवंश आचार्य 

२२ वर्षपछि आएको यो ठूलो अवसर हो। तर धेरैले भोट कसरी हाल्ने भनेको सुनियो। निर्वाचन नभएको धेरै समय भएकाले जनताले भोट हाल्नै बिर्सिसके। हेर्दाखेरी स्थानीय सरकार भनेको गाउँ वडाको भएकाले यसलाई ठूलो ठानिँदैन। तर यो चुनाव जनताका लागि संसद्को चुनावभन्दा ठूलो हो। सानो समस्या पर्यो कि वडा गाउँमा जानुपर्छ। त्यहाँका कर्मचारी भनेको बाहिरबाट खटिएर आएका हुन्छन्। ६ महिना एक वर्षपछि सरुवा भएर जान्छन्। उनीहरुमा जवाफदेहिता हुँदैन। तर स्थानीय प्रतिनिधि त्यही ठाउँबाटै चुनिने भएकाले उनीहरु जवाफदेही हुन्छन्। आफ्ना बा, आमा, छोराछोरी, आफन्त त्यहीँ हुने भएकाले दायित्वबोध हुन्छ। ठेकेदारले कसरी गाउँ र वडाको काम कसरी टालटुलल पारेर जाउँ भन्ने हिसाबले काम गर्छ। जसका कारण सडक ढल बनाएको केही समयपछि नै फेरि बिग्रन्छ। स्थानीय प्रमूख भएपछि जनताले घेर्छन् भन्ने डरले पनि कामको स्तर बढ्छ। देशमा त्यत्रो भूकम्प गयो, अभैm कतिले राहत पाएका छैनन्, घर बनेको छैन। जनप्रतिनिधि भएको भए सरकारले लोकल बडीलाई जिम्मा दिन सक्थ्यो। यो भनेको अभिभावक छान्ने अवसर हो। चुनाव नभएकाले गाउँ र नगर अभिभावकविहीन भइरहेको छ। अब अभिभावक छान्दा तमसुक कागजात पोको पारेर दराजमा राख्नेलाई होइन, आधुनिक प्रविधिसँग परिचितलाई छान्नुपर्छ।

निर्वाचन नहुँदा विकास निर्माणमा बाधा

झरना थापा

यत्रोपछि हुन लागेको चुनावप्रति पोजेटिभ छु। यो चुनावमा जसले जिते पनि आफ्नो गाउँठाउँलाई राम्रो बनाउन् भन्ने शुभेच्छा छ। नेताहरु प्रायः खोक्छन्। जसले पनि यो गर्छु र त्यो गर्छु भनेर आश्वासन दिइरहेका हुन्छन्। तर लास्टमा केही गरेको हुँदैन। यतीका वर्षसम्म स्थानीय सरकारको निर्वाचन नहुँदा विकास निर्माणका काममा बाधा भइरहेको थियो। यो निर्वाचनपछि सबै कुरामा सुधार र सरल होला, स्थानीय तहको काम कारबाही राम्ररी हुन्छ होला भन्ने अपेक्षा गरेको छु।

सही चुनाव हुन्छजस्तो लाग्दैन

गौरी मल्ल

यो चुनाव हुने एकदमै सकरात्मक कुरा हो। तर जुन किसिमले चुनाव हुँदै छ, सानो दिमागमा धेरै कुरा परेजस्तो भएको छ। सबैजसो मानिस भोट कसरी हाल्ने भनेर अभैm अलमल्ल परिरहेको देखेको छु। यसरी हतार हतारमा बिना तयारी चुनाव गर्नुभन्दा अभैm अलिकति समय लिनुपथ्र्यो कि। मेरो विचारमा होमवर्क पुगेको छैन। मतदाता नै अलमलमा परेकाले सही चुनाव हुन्छजस्तो लागेको छैन। कसरी भोट हाल्ने भन्ने कन्फ्युजन छ। हामी नै कन्फ्युज छौँ भने गाउँतिर झन कसरी बुझिएको होला, १०⁄१२ दिनको मतदान शिक्षाले पुग्दैन। १ महिना समय लिनुपथ्र्योजस्तो लाग्छ। यत्रो वर्ष चुनाव नभएर धेरै अन्यौल भएको छ देशमा। जबसम्म नतिजा आउँदैन अभैm अन्यौल हुन्छ। अहिले धेरै नयाँ पुस्ता आएका छन् त्यसले केही बदलाव आउला कि भन्ने आशा पनि छ। त्यो भएन भने ठूलो अभिशापसिद्ध हुनेछ देशमा। बदलाव आयो भने २ दशकपछि चुनाव भएको पनि सुखद् पक्ष हुन्छ।

यो सुनौलो मौका हो

मिथिला शर्मा

यो चुनावलाई मैले एउटा बिगँ्रदै गएको परिस्थितिलाई तोड्दै नयाँ जग बसाल्ने र राम्रो बनाएर ल्याउने अवसरका रुपमा लिएको छु। जहाँ हामीले राम्रो बिरुवा रोप्नुपर्छ। फुटेर होइन, जुटेर मनस्थिति परिवर्तन गर्नुपर्छ। यो निर्वाचन हाम्रो घर गाउँ र आँगनसम्म सम्बन्धित भएकाले वडा नगर सबैबाट तलैदेखि जतिसक्दो राम्रो हुनुपर्छ। यो स्थानीय सरकारमा पदाधिकारी नहुँदा भोग्नुपरेको कठिनाइलाई मेट्ने र सपारेर लाने मौका हो। यसमा हामी चुक्नुहँुदैन। मेरो लागि राम्रो नहोला त्यो मान्छे, तर समाज र गाउँ नगरका लागि राम्रो जनप्रतिनिधि छान्ने सुनौलो मौका हो यो।

अब थिति बस्ला कि

मीरा राणा

यो चुनाव २० वर्षपछि हुन लागेको छ। यो चुनाव नहुँदा स्थानीय क्षेत्रमा थिति थिएन। सबै कुरा बेथितिमा गइरहेको थियो। अब थिति बस्छ कि भन्ने आशा जागेको छ। चुनाव नभएकाले जनताले अति नै दुःख पाइरहेका थिए। यो चुनाव २ चरणमा नगरी एकै चरणमा सकेको भए राम्रो हुन्थ्यो। पहिलो चरणको चुनावले राम्रो संकेत ल्याउँछ होला। पछाडिको चाहिँ के हुन्छ भन्न सकिन्न। राम्रो परिणाम दिन्छजस्तो लाग्दैन। देशमा संकट बढ्ला कि भन्ने चिन्ता छ।

बरु सांसद नभए फरक पर्दैन

दीपकराज गिरी

स्थानीय तहका लागि लामो समयपछि भए पनि निर्वाचन हुँदै छ। जनता पनि उत्साहित छन्। देशमा बरु सांसद नहुँदा फरक पर्दैन। स्थानीय प्रतिनिधि चाहिँ हुनैपर्छ। प्रतिनिधि भएन भने सानो–सानो तहको विकास निर्माणको काम रोकिन्छ र रोकिएको छ। स्थानीय तहमा कर्मचारीले स्थानीयको भाषा बुभ्mदैनन्। त्यहीको स्थानीय प्रतिनिधि चाहिन्छ।

संविधान कार्यान्वयनको पहिलो खुट्किला

हरिहर शर्मा

यो निर्वाचनलाई मैले अत्यन्त उत्साहका साथ लिएको छु। यो देश र स्थानीय तहका लागि अपरिहार्य कुरा हो। यो निर्वाचन धेरैअघि नै हुनुपथ्र्यो, बल्ल हुँदै छ। कमसेकम नयाँ संविधानको कार्यान्वयन गर्ने दिशाको पहिलो खुट्किला हो यो। त्यसैले अत्यन्त सुखद् विषय हो। यो चुनावमा बढीभन्दा बढी जनताको सहभागीता होस् भन्ने चाहना राखेको छु। जनप्रनिधिले लोकतन्तत्रमान विधि विधानअनुसार सत्ता सञ्चालन गर्नुपर्छ। तर हामी जनप्रतिनिधि चुन्न अधिकारबाटै वञ्चित भइरहेका थियौँ। त्यो अवसर बल्ल मिलेको छ।

अब नयाँ नेपाल निर्माणको शुरुआत

सरोज खनाल

यो निर्वाचनलाई मैले एकदमै पोजेटिभरुपमा हेरेको छु। यो उहिले नै हुनु आवश्यक थियो। किनभने कुनै पनि राष्ट्रको विकासका लागि जरादेखि नै शुरु हुनुपर्छ। स्थानीय तहको निर्वाचन नहुँदा जरा नै कमजोर थियो, हांगाबीगा मात्र थियो। यो निर्वाचनसँगै मजबुत हुँदै छ। आमजनता सिंहदरबार पुग्न सक्दैनन्।

आफ्नै जनप्रनिधिलाई भन्न सक्ने थिएन। अब भने लेट आयो दुरुस्त आयो भएको छ। पहिलापहिला सांसद मात्र छानेर पठाउँथ्यौं। कार्यव्यस्तताले भोट माग्न आउने नेताको अर्को चुनाव नभएसम्म नाकमुख देखिन्न थियो। अब त स्थानीयले त्यहीँ बसेर हेर्न सक्छ। अब चाहिँ नयाँ नेपाल निर्माणको शुरुआत हुने आशा छ।

प्रतिक्रिया दिनुहोस्