म्याग्दीमा सुन्तलाको उत्पादन बढ्दो वार्षिक साढे सात करोडको कारोबार



प्रताप बानियाँ, म्याग्दी
विगत केही वर्षयता पहाडी जिल्ला म्याग्दीमा सुन्तलाजात फलफुलको उत्पादनमा वृद्धि हुँदै गएको छ। खासगरी सुन्तला सुदृढीकरण अभियान सञ्चालन गरेपछि पछिल्लो समय जिल्लामा सुन्तला उत्पादन बढेको हो।

सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा परिचय बनाउँदै गएको म्याग्दीमा चालु आर्थिक वर्ष २०७३⁄७४ मा कुल सात करोड ५० लाख बराबरको कारोबार भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ। गतवर्ष सात करोड ३० लाख रूपैयाँको कारोबार भएको थियो भने यसवर्ष सुन्तला उत्पादन बढेपछि कारोबारमा वृद्धि भएको बताइएको छ।

सुन्तला बिक्री गरेर म्याग्दीका कृषकहरूले सात करोडभन्दा बढी आम्दानी गरेका छन्। किसानले जिल्लाभन्दा बाहिर दुई करोड २९ लाख बढीको सुन्तला बिक्री गरेको कृषि कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार जिल्लाभन्दा बाहिर निकासीबाहेक बाँकी परिमाणको सुन्तला जिल्लाभित्रै खपत भएको छ। म्याग्दीको सुन्तला पोखरा, काठमाडौं, नारायणघाट र जनकपुरका शहरमा पुगेको छ।
सुन्तला खरिद गर्न व्यापारीहरू नगद र सवारीसाधन लिएर किसानको बोटमै आएका थिए। चालु वर्षमा भकिम्लीबाट मात्रै २७ लाख ६९ हजार, बराङ्जाबाट २२ लाख पाँचहजार र मरेक, बास्कुना तथा घारबाट १५⁄१५ लाखको सुन्तला बिक्री भएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। ग्रामीण भेगका कृषकहरू अन्य पेशा छोडेर व्यावसायिक सुन्तला खेतीतर्फ लागेपछि सुन्तला उत्पादनमा वृद्धि हुँदै जान थालेको हो।

कुल ६ सय ८५ हेक्टरमा लगाइएको सुन्तलाजात फलफुलहरूमध्ये २ सय ८० हेक्टर जमिनमा लगाइएको सुन्तलाबाट २ हजार ३ सय ३५ मेट्रिक टन उत्पादन भएको छ भने प्रति हेक्टर ७ दशमलब ९८ प्रतिशत उत्पादकत्व रहेको छ। गतवर्ष २ हजार ८६ मेट्रिक टन सुन्तला उत्पादन भएको बागबानी विकास अधिकृत थापाको भनाई छ।

जिल्लामा सुन्तला सुदृढीकरण कार्यक्रम सञ्चालन, बगैंचा व्यवस्थापन, मौमस अनुकुल, सुन्तलामा लाग्ने रोग तथा किराको निराकरण र बजार राम्रो भएको हुँदा सुन्तला उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो। कृषकले बोटमै ४० रूपैयाँ केजीका दरले बेच्ने सुन्तला जनकपुरसम्म पुग्दा करिब १ सय रूपैयाँ प्रतिकेजीका दरले बिक्री हुने गरेको छ। एउटा किसानले वर्षमा सुन्तलाबाटै कम्तीमा ५ लाखसम्म आम्दानी गर्ने गरेका छन्।

कार्यालयको तथ्याङ्कअनुसार हाल जिल्लाभर २ सय ६५ जना कृषकहरू व्यावसायिक सुन्तला बगैंचाका धनी रहेका छन्। कार्यालयले दिएको जानकारीअनुसार एउटै कृषकको बगैंचामा ४ सयबढी सुन्तलाका उत्पादकत्व बोकेका बोटहरू रहेको वरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो।
किसानहरूलाई कार्यालयमार्फत् आवश्यक औजार, कृषि तालिम, गोष्ठी, भ्रमण र अनुदानलगायतका सेवासुविधा उपलब्ध गराएपछि सुन्तला खेतीतर्फ किसानको आकर्षण बढ्नुका साथै उत्पादन पनि बढेको कार्यालयले बताएको छ। पछिल्लो समय विदेश गएर फर्किएका यूवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूल तथा पशुपालनतर्फ आकर्षित हुँदै गैरहेका छन्।

म्याग्दीमा स्थानीय लोकल जातको सुन्तला लगाउने गरिएको छ। जिल्लाको भकिम्ली, सि·ा, ताकम, विम, देवीस्थान, मुदी, मराङ, भगवती, बेगखोला, बराङ्जा, दाना, नारच्याङ, भूरुङ–तातोपानी, दोवा, घार, घतान, पात्लेखेत, भगवती र पिप्ले क्षेत्र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्