राजनीतिक दललाई जनताको पारितोषिक



प्रदीप उप्रेती

कुनै पनि सफल प्रजातान्त्रिक मुलुकमा चुनावको आफ्नै विशिष्ट स्थान रहेको हुन्छ। जुन मुलुकमा चुनावलाई विश्वास गरिँदैन त्यस मुलुकका नागरिकहरुलाई वास्तवमा राज्यारा प्रदान गरिएको हकअधिकार कुण्ठित गरेको हो भन्न सकिन्छ। चुनाव र भोटको अन्तरसम्बन्धलाई हामीहरु कसैले पनि अन्यथा लिन सक्दैनौं।

किनकि यी एक अर्काका पूरक तत्त्व हुन्। जुन मुलुकमा चुनावलाई बेवास्ता गरिन्छ त्यहाँ निश्चितरूपमा प्रजातान्त्रिक शक्तिहरुलाई लत्याई गैरप्रजातान्त्रिक शक्तिलाई अघोषितरूपमा बढ्वा दिएको मान्न सकिन्छ। प्रजातान्त्रिक लडाइँपश्चात मात्र धेरै जसो मुलुकहरुमा चुनावको अवसर प्राप्त हुने गर्दछ।

सम्बन्धित मुलुकको मूल कानुन संविधानद्वारा निर्देश गरेअनुसार नै चुनावको व्यवस्था हुने गर्दछ। नेपालको सन्दर्भमा भन्ने हो भने विभिन्न आरोह अवरोहलाई पार गर्दै आज स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। चुनावका सन्दर्भमा भएका विभिन्न विरोधाभाषका कुरालाई लत्याउँदै चुनाव सकारात्मकतातर्फ उन्मुख हुनु भनेको नेपालका प्रजातान्त्रिक शक्तिबीचको मत भिन्नतालाई केही हदसम्म भए पनि चुनावले मत्थर गर्ला भन्न सकिन्छ।
चुनावलाई उत्सवका रुपमा लिँदै नेपालमा चुनावी गतिविधिले सकारात्मक मोड लिएको आभास भएको छ। केही असहमतीहरुका बीचमा पनि सहमती देखाउँदै भौतारिँदै हिँडेको मधेससमेत चुनावमा समावेश हुनु भनेको मुलुकका लागि सकारात्मक पक्ष हो भन्न सकिन्छ। मधेसको उपस्थितिविनाको चुनावलाई नेपाली जनमानसले पनि सहजरूपमा विश्वास अवश्य पनि गर्ने छैनन्। यस गहन तथ्यका बारेमा मधेस तथा नेपालका राजनीतिक दलहरु पक्कै पनि अनभिज्ञ छैनन्। यही प्रमुख कारक तत्त्वका कारण मधेस आफ्ना गतिविधिमा एक इन्च पनि पछाडि नसरेको हो।

जे भए तापनि मुलुकलाई शान्ति र स्थिरता दिने हो भने सम्पूर्ण न्यायप्रेमी राजनीतिक दल तथा नागरिक समाजले ढिलो वा चाँडो चुनावमा भाग लिनुपर्ने नै हुन्छ। त्यसैले चुनावमा भाग लिइरहेका पनि छन्। चुनावमा लाग्ने जुनसुकै पक्षले पनि चुनावको नतिजा आफ्नो पक्षमा पार्न अविरलरूपमा लागेको देखिन्छ। यो नै चुनावको प्रमुख विशेषता हो। चुनावमा भोटको महत्त्वलाई हामी कसैले पनि नजरअन्दाज गर्न पक्कै पनि सक्दैनौं। किनकि चुनाव प्रजातन्त्रको गति हो भने भोट यसलाई आफ्नो मार्गमा हिँडाउन सक्ने जनमतको अभिव्यक्ति हो।

आमजनसमुदायहरुले चुनावको समयमा भोटका माध्यमबाट आफ्ना असन्तुष्टि वा खुसी व्यक्त गर्न यस चुनावी पद्धतिलाई अपनाउने गर्दछन्। यो नै मूलरूपमा प्रजातन्त्रको आत्मासमेत हो। जुन मुलुकमा यस्ता गतिविधिहरु हँुदैनन् त्यहाँ पक्कै पनि प्रजातन्त्र छैन भन्दा फरक पर्नेछैन। तसर्थ चुनावमा भोटको अमूल्य महत्त्व रहन्छ।

वास्तवमा भन्ने हो भने प्रजातन्त्रको मूल धर्म भनेको सफल निर्वाचन पद्धतिलाई नै हो। यदि आफूलाई प्रजातन्त्रको वास्तविक हिमायती भन्छन् भने ती समूह पक्कै पनि निर्वाचनबाट टाढा हुनै सक्दैनन्। तसर्थ प्रजातन्त्रको आवरणमा आउने तानाशाही प्रवृतिको प्रतिनिधित्वमूलक संस्था मात्र चुनावी गतिविधिहरुको सदैव विरोधी हुन्छन्। जनविरोधी तत्त्व मात्र चुनावबाट विमुख हुन खोज्छन्। यसका विपरीत जनताका पक्षपोषक तत्त्व चुनावलाई आत्मसात् गर्न किञ्चित पछि हट्दैनन्। उनीहरु निर्विघ्नपूर्वक जनताको भोटमा विश्वस्त रहन्छन्, चाहे चुनावमा विजय होस् वा पराजय नै किन नहोस्।

तर यसका बाबजुद पनि नेपालमा केही यस्ता शक्तिहरु हाबी छन् जो जनमतमा विश्वास गर्छु त भन्छन् तर जनमतलाई सदैव ओझेलमा पार्न उद्यत रहन्छन्। परिणामतः चुनावको सम्मुख मतदातालाई ओझेलमा पार्दै केवल सानो रकमको सहाराले निश्चय पनि चुनाव जितिन्छ भन्ने विश्वासमा जनमतको मूल चुरोको रुपमा रहेको अमूल्य भोटलाई किन्न सदैव तयार रहन्छन्। आज एकाइसौं शताब्दीमा यो सोचाइमा परिवर्तन ल्याउन नितान्त जरुरी छ।

चुनावको सफलता वा असफलता भन्ने कुरा वास्तवमा रकमले भन्दा पनि आमजनताका लागि गरिएको सत्कर्मबापत जनताको मनमा बस्न सफल राजनेता वा तिनका राजनीतिक दलहरुलाई जनताले आफ्नो अन्तरमनद्वारा प्रदान गरिएको पारितोषिक मात्रै हो। तसर्थ चुनावको भोट किमार्थ नोटले खरिद गर्न सकिने वस्तु होइन। यो त जनसेवाबापत प्राप्त हुने प्रसाद मात्र हो। यो नै चुनावको वास्तविकता पनि हो।

चुनावको सफलता वा असफलता भन्ने कुरा वास्तवमा रकमले भन्दा पनि आमजनताका लागि गरिएको सत्कर्मबापत जनताको मनमा बस्न सफल राजनेता वा तिनका राजनीतिक दलहरुलाई जनताले आफ्नो अन्तरमनद्वारा प्रदान गरिएको पारितोषिक मात्रै हो। तसर्थ चुनावको भोट किमार्थ नोटले खरिद गर्न सकिने वस्तु होइन। यो त जनसेवाबापत प्राप्त हुने प्रसाद मात्र हो।

अतः भोट खरिद गर्न चाहने तत्त्वहरु सदैव जनताको नजरबाट सदाका लागि अवश्य पनि टाढिने नै छन्। यस्ता समूहहरुले सफल प्रजातान्त्रिक निर्वाचनमा कहिल्यै पनि अग्रणी स्थान प्राप्त गर्न नसक्ने निश्चितप्रायः छ। वास्तवमा भोटको कदर नै जनमतको आदर हो भन्न सकिन्छ। नेपाललगायत सम्पूर्ण दक्षिण एसियाका साझा मुद्दाका रुपमा रहेको भोट खरिदलाई जनसमुदायमा रहेको गरिबी, मतदाता शिक्षाको अभावका साथै राजनीतिक चेतनाशून्य स्थितिबाट उब्जेको विशुद्ध राजनीतिक समस्याका रूपमा लिन सकिन्छ।

जबसम्म सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरुले चुनावमा भोट खरिद गरी नतिजा आफ्नो पक्षमा पार्न अस्वस्थ प्रतिस्पर्धा कायम राख्छन् तबसम्म जुनसुकै तहको निर्वाचनमा पनि यो परिस्थिति कायम नै रहन्छ। यस्ता गतिविधिहरुले सधैं नै लोकतन्त्रको विकास, विस्तार तथा संस्थागत गर्ने कार्यमा मुख्य बाधक तत्त्वका रूपमा अग्रणी स्थान अवश्य पनि कायम नै राख्नेछन्। जसले गर्दा जनमतको निर्वाचनप्रति नै वितृष्णा फैलन सक्ने प्रबल सम्भावनाहरु रहन्छ। चुनावमा अत्यधिक मात्रामा जनसहभागिता नहुने प्रमुख कारक तत्त्वको रूपमा भोट खरिद–बिक्रीलाई पनि लिन सकिन्छ। खरिद भोटले नै चुनावलाई निर्णयार्थमा पुर्याउँछ भन्ने विश्वास जनमतलाई भएमा निश्चय पनि चुनावमा न्यून जनसहभागिता हुन्छ। न्यून जनसहभागिताले तिनै तत्त्व वा समूहलाई मात्र लाभ पुर्याउँछ, जो सदैव चुनावमा भोट खरिदबाट प्राप्त नतिजामा पूर्ण विश्वास गरी चुनावमा होमिने गर्दछन्।

यस्ता गैरव्यावहारिक मनस्थिति जबसम्म राजनीतिमा कायम रहन्छ तबसम्म निष्पक्ष र धाँधलिरहित चुनावको परिकल्पना कुनै पनि राजनीतिक शक्तिहरुले विश्वका कुनै पनि मुलुकमा गर्न सक्दैनन्। हुनत चुनावको समयमा हुने आर्थिक गतिविधिमाथि अंकुश लगाउने उद्देश्यले सम्बन्धित मुलुकका निर्वाचन आयोगहरुले निर्वाचन आचारसंहिता पनि ल्याएका हुन्छन्। तर हाम्रो जस्तो अल्पविकसित मुलुकमा आचारसंहिता कतिको शुद्धतापूर्वक लागू भयो वा भएन भन्ने निक्र्योल गर्न सरकारी पक्षको अग्रसरतामा पनि चुनावी गतिविधिहरु पक्कै पनि निर्धारण हुने गर्दछ। यसका अतिरिक्त प्रजातान्त्रिक शक्तिहरुको चुनावी प्रतिस्पर्धाका लागि गरिने आन्तरिक तालमेलका कारण आचारसंहितासमेत ओझेल पर्न सक्ने देखिन्छ। किनकि तैं चुप मै चुपले गर्दा यस्तो अवस्था सिर्जना हुन आउनेछ।

यदि राजनीतिक दलहरु चुनावप्रति बेइमान नहुने हो भने भोट खरिद बिक्रीको प्रसंग पक्कै पनि आउने नै थिएन। तसर्थ निष्पक्ष निर्वाचनका लागि भोटलाई नोटमा खरिद गर्ने गलत व्यवस्थाको पक्कै पनि अन्त्य हुनै पर्दछ। यस्तो अवस्था जगाउन सकिएन भने निश्चय पनि चुनावी नतिजा आशा गरेभन्दा विपरीत पनि निस्कन सक्छ। त्यसैले चुनावी अवसरमा भोट खरिद विक्रीलाई सदाका लागि अन्त्य गर्नु नै निर्वाचनलाई जनमुखी बनाउनु हो भन्न सकिन्छ। यसका अतिरिक्त रुपियाँको बलमा चुनावको नतिजा आफ्नो पकडमा नहुने भएमा हिंसाको रणनीति पनि अख्तियारी गर्ने प्रबल सम्भावना रहन्छ। किनकि नेपालको आजको वातावरण नोटको लोभ र हिंसाको चोटमा अगाडि बढेको हुँदा सधैं नै चुनावको मुखमा चुनावी हिंसाको सम्भावनाहरुलाई नकार्न सकिँदैन। तसर्थ सदैव यस्ता तत्त्व वा समूहबाट सर्तक रही चुनाव सम्पन्न गर्नु आजको चुनौतीबीचको प्रमुख आवश्यकता हो भन्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्