औषधि सरकारले नै खरिद गर्ने



काठमाडौं, (नेस)
औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुँदै गरेको कुरा पटकपटक औषधि उत्पादकहरूले सरकारको ध्यानाकर्षण गराइरहेको अवस्थालाई ध्यानमा राखी सरकारले सुझाव समिति नै गठन गरी समितिको सुझावका आधारमा सरकारले नै औषधि खरिद गरी अस्पतालले अनिवार्य औषधि पसल राखी बेच्नुपर्ने नीति ल्याएको छ।

औषधि खरिदमा परनिर्भर हुँदा औषधिमा व्यापारीहरूले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधि आफै किनेर आफै बेच्ने निर्णय लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अबका दिनमा विदेशी कम्पनीबाट किन्नुपर्ने औषधिहरू सरकारले सीधै कम्पनीसँगबाटै किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधि सरकारले नै खरिद गरेर बेच्दा उपभोक्तालाई ५० प्रतिशतसम्म सस्तो पर्न सक्ने देखिएको जनाएको छ। सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधिहरूमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो।
औषधि उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको अवस्थामा नेपाली औषधिको गुणस्तरीयता र मूल्य समायोजनका विषयमा नेपाल सरकारले नेपाली उद्योगलाई नै प्राथमिकतामा राख्ने निर्णय गरेलगत्तै विदेशी औषधि निर्यातकर्ताहरू अतालिएर सरकारको विरोध गर्नेलगायतका कार्यक्रम लिएर आन्दोलन नै घोषणा गरेको पनि मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले नेपाली उद्योगको विकास गर्दै औषधिमा आत्मनिर्भरतर्फ अगाडि बढ्न सकिने भन्दै २०७३ साल माघ ५ गते औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा वासु शर्मा पौडेल, उपसचिव, अर्थ मन्त्रालय, तर्कराज भट्ट, उपसचिव, वाणिज्य मन्त्रालय, विजया लक्ष्मी श्रेष्ठ, औषधि व्यवस्थापक, स्वास्थ्य मन्त्रालय, डा. विश्व पौडेल, काठमाडौं विश्वविद्यालय, दीपक दहाल, नेपाल औषधि उत्पादक संघ, आमन्त्रित सदस्य प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघ र सन्तोष केसी सदस्यसचिव रहेको सुझाव समिति गठन गरेको थियो।

सोही समितिको सुझावको आधारमा नेपालमै सर्वसुलभ मूल्यमा गुणस्तरीय औषधि उत्पादनका लागि स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्ने नीति तय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्