एमाले कार्यकर्तामाथि खुकुरी प्रहार



मोतीराम तिमल्सिना, काभ्रे
आफ्नै दलको उम्मेदवार भेटेर फर्कंदै गरेको अवस्थामा एमालेका कार्यकर्ताहरूलाई माओवादी कार्यकर्ताहरूले खुकुरी प्रहार गरेका छन्। बेथान्चोक गाउँपालिका ५ मदनबासमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

एमालेले बेथान्चोक गाउँपालिकामा सोही वडाबाट उन्नति केसीलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ। एमाले कार्यकर्ताहरू मौन अवधि भएकाले उम्मेदवारको घरमा सल्लाह गरेर फर्कंदै गरेको अवस्थामा रातको १० बजे मोटरसाइकलमा आएका माओवादीका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूलाई लखेटीलखेटी खुकुरी प्रहार गरेको बताइएको छ। एमाले कार्यकर्ता हर्क तामाङ खुकुरी प्रहारबाट घाइते भएका छन्। उनको उपचार धुलिखेल अस्पतालमा भएको छ।
माओवादी निकट वाईसीएल कार्यकर्ताहरू १५ जनाको समूहमा आएका थिए। केहीलाई प्रहरीले पक्राउ गरेको छ। केही फरार छन्। वाईसीएल कार्यकर्ता मर्दन तामाङ, झलक तामाङसहितले एक्कासि हर्कलाई घरेलु हतियार निकालेर आक्रमण गरेका थिए।

उनीहरू मोटरसाइकलमा आएका थिए। हर्क तामाङसहित एमालेका कार्यकर्ताहरू उपाध्यक्ष उन्नति केसीको घरमा सल्लाह गरी निस्कँदै गर्दा वाईसीएल कार्यकर्ताहरूले आक्रमण गरेको एमालेका नेताहरूले बताएका छन्।

प्रहरीले आक्रमण गरी फरार भएका वाईसीएल कार्यकर्ताहरूलाई गोल्माकोटबाट पक्राउ गरेको हो। केही मोटरसाइकलसहित फरार छन्। बेथान्चोक–५ भंगाला मदनबासमा उक्त घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्