‘पनातिको हात समातेर भोट हाल्न जान्छु



हेटौंडा, (नेस)
पछिल्लो स्थानीय निर्वाचन हुँदा हेटौंडा–२ का चिरञ्जीवी आचार्य ८२औं वसन्त पार गर्दै थिए। हाल उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसकेका छन्।

पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो। त्यसयता आज आइतबार पहिलो चरणमा मकवानपुरमा निर्वाचन हुँदै छ। जसले गर्दा आचार्य निकै खुसी देखिन्छन्।

२००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका चिरञ्जीवीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भने–आज (वैशाख ३१ गते) सम्म त अब कसो नबाचौंला ? पनातिको हात समातेर भोट हाल्न जान्छु। करिब दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनले उनी उत्साहित देखिए। उनका एक छोरा, ५ नाति, २ नातिनी र १० पनाति⁄पनातिनी छन्। उनको घरका १३ मतदाताले सिद्धार्थ मावि केन्द्रबाट भोट हाल्नेछन्।

शहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमा समेत यतिबेला कुराकानी गर्ने प्रमुख विषय नै स्थानीय तह निर्वाचन बनेको छ। जनप्रतिनिधि नभएकै कारण विकासले गति लिन नसकेको आचार्यको तीतो अनुभव छ। एउटा सामान्य कामका लागि पनि सचिव खोज्दै सदरमुकाम हेटौंडा धाउनुपर्ने बाध्यताले सर्वसाधारण आक्रान्त भएको उनले बताए।
२०५४ सालमा जन्मिएका शिशु जवान भएका छन्। जवान वयस्क भएका छन् भने वयस्क वृद्ध भएका छन्। लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै वञ्चित भएका थिए।

प्रतिक्रिया दिनुहोस्