वडाध्यक्ष उम्मेदवारको अपहरण



रोशन पराजुली, हेटौंडा
चुनावको एक दिन मात्र बाँकी रहँदा नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रका एक उम्मेदवारलाई नियन्त्रणमा लिएको छ।

मकवानपुरको मनहरि गाउँपालिका–१, हाँडीखोलामा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शनिबार बिहान करिब ४ बजे नियन्त्रणमा लिएका हुन्। उनको अपहरणपछि त्यहाँको निर्वाचन अन्यौलमा परेको छ।

सम्पर्कविहीन बनेका उनको खोजी भइरहेको नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामीले बताए। नेपाल कम्युनिस्ट पार्टीका विभिन्न संगठनमा आवद्ध भएकाहरूले स्थानीय निकाय निर्वाचन बिथोल्न सक्ने आशंकामा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएकाले प्रतिशोधका आधारमा अपहरण गरेको हुन सक्ने माओवादी कार्यकर्ताले बताएका छन्।

मकवानपुर प्रहरीले अनुसन्धान भइरहेको र विप्लव माओवादीले अपहरण गरेको हुन सक्ने जानकारी दिएको छ। घटनापछि प्रहरी टोली त्यहाँ पुगेको छ। नेपाल कम्युनिस्ट पार्टीका विभिन्न संगठनमा आवद्ध व्यक्तिलाई अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी⁄प्रशासनले नियन्त्रणमा लिएको भन्दै नेकपाले उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको दाबी गरिएको छ। आफ्ना कार्यकर्ता देशभर पक्राउ गरेपछि नेकपाले सरकारी गठबन्धनका कार्यकर्ता र उम्मेदवार नै पक्राउ गर्न थालेका छन्।

विप्लव माओवादी स्रोतले पुरानो सत्ताले कुनै अपराधजन्य कार्यमा सहभागी नभएर आफ्नो पेसा र व्यवसाय गरी बसेका पार्टीका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएको प्रति आपत्ति जनाउँदै नेकपाको जनसरकारले उम्मेदवारलाई नियन्त्रणमा लिन थालेको जनाएको छ। प्रहरी⁄प्रशासनको यस्तै व्यवहार भइरहे अन्य उम्मेदवारसमेत नियन्त्रणमा लिनसक्ने माओवादीले चेतावनी दिएको छ।

माओवादी केन्द्र मकवानपुरले आफ्नो तर्फबाट मनहरि गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष उम्मेदवार उप्रेतीलाई अपहरण गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ। नियन्त्रणमा लिइएको घटनाका सन्दर्भमा शनिबार माओवादी केन्द्रको कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गरी माओवादी केन्द्र मकवानपुर अध्यक्ष पुलामीले आफ्ना कार्यकर्ता तथा वडा अध्यक्ष उम्मेदवार उप्रेतीलाई तत्काल अपहरणमुक्त गर्न माग गरेका छन्।

जनयुद्धकालदेखि माओवादीआवद्ध उनी ३ महिना जेल परेका थिए। उनी २०२८ सालमा जन्मिएका हुन्। सामान्य अध्ययन गरेका उप्रेतीलाई माओवादी केन्द्रले आफ्नो उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो। घटनाको जिम्मा कसैले नलिएको भन्दै माओवादी केन्द्रले चिन्ता ब्यक्त गरेको छ। माओवादी केन्द्रका नेता तथा कार्यकर्ता उप्रेतीको घर चकरी जाने भएको छ।

नेपाल कम्युनिस्ट पार्टीले शनिबार नेपाल बन्द घोषणा गरेको छ। आइतबार हुने स्थानीय तह पहिलो चरण निर्वाचन खारेजी माग राख्दै नेकपाले बन्द घोषणा गरेको हो। देशभर नेकपाका कार्यकर्ता गिरफ्तार गरी सरकारले यातना दिएको भन्दै ती सम्पूर्ण कार्यकर्ता रिहा गर्न नेकपाले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। नेकपाले बन्द आह्वान गरे पनि मकवानपुरको चहलपहल भने सामान्य छ।

प्रतिक्रिया दिनुहोस्