आजको निर्वाचन, गाउँमा गन्जागोल, सदरमुकाममा शान्ति



चिरञ्जीवी मास्के, दोलखा
दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले आज आइतबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ। दुई नगरपालिका र सात गाँउपालिका भएको दोलखा जिल्लामा ९४ वटा मतदान स्थल र १ सय ७८ वटा मतदान केन्द्र रहेको र त्यसका लागि १ हजार २१ जना कर्मचारी खटाइएको बताउनुभयो।

जिल्ला निर्वाचन कार्यालय दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा रहेको र सबैले स्वतन्त्र ढङ्गले मतदान गर्न सक्ने बताउनुभयो। तर दोलखाको गौरीशङ्कर, बैतेश्वर र तामाकोसी गाँउपालिकाका विभिन्न वडाहरूमा भने प्रमुख दलका कार्यकर्ताहरूबीच पटक–पटक झडप भएको स्थानीयले बताएका छन्। गौरीशङ्कर गाँउपालिकाको मार्बु, बैतेश्वर गाँउपालिकाको मिर्गे, गैरीमुदी, नाम्दु र तामाकोसी गाँउपालिकाको झुले, भीरकोट, जफे, च्यामालगायतका ठाउँमा प्रचारप्रसारको क्रममा पटक–पटक झडप भए पनि स्थानीय प्रशासनले सुरक्षा सर्तकता नअपनाएको स्थानीयको गुनासो छ।

त्यसै गरी दोलखाकै मेलुङ गाँउपालिका र शैलुङ गाँउपालिकाका केही वडाहरूमा समेत सुरक्षा चनौती रहेको स्थानयिको भनाइ छ।गौरीशङ्कर गाँउपालिकाको वडा नम्बर ७ मार्वमा केही दिनअघि एमालेको चुनावी सभामा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताले अवरोध गर्न खोजेपछि लगत्तै एमाले कार्यकर्ताले माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारलाई लखेटेको भन्दै शान्ति सुरक्षा कायम गरिपाउँ भनी पीडितले प्रहरीमा उजुरी दिएका छन्।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले दिनुभएको जानकारीअनुसार दोलखा जिल्लामा विभिन्न ३ सय ८८ पदका लागि १२ सय ३७ जनाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुहोस्