वडाध्यक्ष उम्मेदवार विप्लवद्वारा अपहरित



हेटौंडा,(नेस)
चुनावको एक दिनमात्र बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रका एक उम्मेदवारलाई नियन्त्रणमा लिएको छ

मकवानपुरको मनहरी गाउँपालिका–१, हाँडीखोलामा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिबार विहान करिब ४ बजे नियन्त्रणमा लिएका हुन् । उनको अपहरणपछि त्यहाँको निर्वाचन अन्यौलमा परेको छ ।

सम्पर्कविहीन बनेका उनको खोजी भइरहेको नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामीले बताए । नेपाल कम्युनिष्ट पार्टीका विभिन्न संगठनमा आवद्ध भएकाहरुले स्थानीय निकाय निर्वाचन बिथोल्नसक्ने आशंकामा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएकाले प्रतिशोधका आधारमा अपहरण गरेको हुनसक्ने माओवादी कार्यकर्ताले बताएका छन् ।

मकवानपुर प्रहरीले अनुसन्धान भइरहेको र विप्लव माओवादीले अपहरण गरेको हुनसक्ने जानकारी दिएको छ । घटनापछि प्रहरी टोली त्यहाँ पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीका विभिन्न संगठनमा आवद्ध व्यक्तिलाई अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी÷प्रशासनले नियन्त्रणमा लिएको भन्दै नेकपाले उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको दाबी गरिएको छ । आफ्ना कार्यकर्ता देशभर पक्राउ गरेपछि नेकपाले सरकारी गठबन्धनका कार्यकर्ता र उम्मेदवार नै पक्राउ गर्न थालेका छन् ।

विप्लव माओवादीस्रोतले पुरानो सत्ताले कुनै अपराधजन्य कार्यमा सहभागी नभएर आफ्नो पेशा र व्यवसाय गरी बसेका पार्टीका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएको प्रति आपत्ति जनाउँदै नेकपाको जनसरकारले उम्मेदवारलाई नियन्त्रणमा लिन थालेको जनाएको छ । प्रहरी÷प्रशासनको यस्तै व्यवहार भइरहे अन्य उम्मेदवारसमेत नियन्त्रणमा लिनसक्ने माओवादीले चेतावनी दिएको छ ।

माओवादी केन्द्र मकवानपुरले आफ्नो तर्फबाट मनहरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष उम्मेदवार उप्रेतीलाई अपहरण गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । नियन्त्रणमा लिइएको घटनाका सन्दर्भमा शनिबार माओवादी केन्द्रको कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गरी माओवादी केन्द्र मकवानपुर अध्यक्ष पुलामीले आफ्ना कार्यकर्ता तथा वडा अध्यक्ष उम्मेदवार उप्रेतीलाई तत्काल अपहरणमुक्त गर्न माग गरेका छन् ।

जनयुद्धकालदेखि माओवादीआवद्ध उनी ३ महिना जेल परेका थिए । उनी २०२८ सालमा जन्मिएका हुन् । सामान्य अध्ययन गरेका उप्रेतीलाई माओवादी केन्द्रले आफ्नो उम्मेदवारका रुपमा प्रस्तुत गरेको थियो ।

घटनाको जिम्मा कसैले नलिएको भन्दै माओवादी केन्द्रले चिन्ता ब्यक्त गरेको छ । माओवादी केन्द्रका नेता तथा कार्यकर्ता उप्रेतीको घर चकरी जाने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले शनिबार नेपाल बन्द घोषणा गरेको छ । आइतबार हुने स्थानीय तह पहिलो चरण निर्वाचन खारेजी माग राख्दै नेकपाले बन्द घोषणा गरेको हो ।

देशभर नेकपाका कार्यकर्र्ता गिरफ्तार गरी सरकारले यातना दिएको भन्दै ती सम्पूर्ण कार्यकर्ता रिहा गर्न नेकपाले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । नेकपाले बन्द आह्वान गरे पनि मकवानपुरको चहलपहल भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्