२ हजार २ सय ७२ प्रहरी परिचालन



हेटौंडा, (नेस)

आइतबार हुने स्थानीय तह पहिलो चरणको निर्वाचनका लागि मकवानपुरमा १ हजार १ सय २५ नेपाल प्रहरी र १ हजार १ सय ४७ म्यादी प्रहरी गरी २ हजार २ सय ७२ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निर्वाचनका लागि जिल्लाका मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुसार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुख उपरीक्षक वसन्तकुमार लामाले बताए।

संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले मतदानस्थल सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाएको बताउँदै उनले मकवानपुरमा हुने स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन आफूहरु प्रतिबद्ध भएको बताए। नगरपालिकामा २ वटा मोबाइल टोली र गाउँपालिकामा एउटा मोबाइल टोलीले काम गरिरहेको छ।
एकै समय ३ ठाउँमा सिलिण्डर विस्फोट

शुक्रबार बिहान करिब ५ बजे मकवानपुरको मनहरि गाउँपालिकामा एकसाथ ३ ठाउँमा सिलिण्डर विस्फोट गराइएको छ। सिलिण्डर कसले पड्कायो भन्ने हालसम्म खुल्न सकेको छैन।

मनहरिको बिजौना, सिम्पानी र देवकोटमा एकसाथ सिलिण्डर पड्किएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक ठाउँमा मात्र सिलिण्डर पड्किएको पुष्टि गरेको छ। प्रहरीले भन्यो– ‘एक ठाउँमा मात्र पड्किएको जानकारी छ।’ सिलिण्डर पड्किए पनि यसबाट मानवीय तथा भौतिक क्षति नभएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्