कांग्रेसद्वारा निन्दा



काठमाडौं, (नेस)

नेपाली कांग्रेसले नुवाकोटको विदुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका जिल्ला सचिव तथा नगरप्रमुख उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीसहित कांग्रेस कार्यकर्तालाई हातपात गरी उनीहरुको साथमा रहेको व्यक्तिगत रकमलाई मतदाता प्रभावित पार्न लिइएको रकम भन्दै आरोप लगाएको जनाएको छ।

विदुर नगरपालिका ९ को दशमुरेमा निर्वाचनको प्रचारप्रसार सकेर निवासतर्फ फर्कंदै गरेका अधिकारी र उहाँका सहयोगीलाई बिहीबार राति १० बजे कार्यकताहरुले अवरोध खडा गरेको कांग्रेस प्रचारप्रसार समितिले जनाएको छ। निर्वाचन आयोगले बिहीबार राति १२ बजेबाट मात्र निर्वाचनको मौन अवधि तोकेको भन्दै निर्वाचन प्रचारप्रसार अवधि कायम रहेको बेलामा भएको यस घटनाको नेपाली कांग्रेस नुवाकोटले पनि शुक्रबार बिहान पत्रकार सम्मेलन गरी भत्र्सना गरेको थियो।

सदरमुकाम समेटिएको विदुर नगरपालिकासहित नुवाकोटका नगर र गाउँपालिकाहरुमा नेकपा एमालेका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसलाई बदनाम गर्न विभिन्न षड्यन्त्रमा लागेको आरोप लगाउँदै कांग्रेसले भनेको छ– ‘स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरुलाई आफ्नो र पार्टीका विचार तथा कार्यक्रमका आधारमा जनताको मत आकर्षण गर्ने स्वस्थ्य परम्परालाई छोडेर आमजनतालाई भ्रमित पार्ने गतिविधिमा केही ठूला दलका कार्यकर्ताहरु नै संलग्न रहनु दुर्भाग्यपूर्ण भएकोे छ।

विचार र कार्यक्रमको आधारमा भयरहित शान्त वातावरणमा निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने मान्यता बोकेको पार्टीले मतदाताको स्वतन्त्रतालाई सधैंभरि सम्मान गर्ने बताउँदै नेपाली कांग्रेसले अनुचित दबाब र प्रभाव वा लोभलालच डर, धम्की र त्रासको आडमा आमजनताको मताधिकारलाई प्रभावित गर्ने गलत कार्यको निन्दा पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्