एक थानमात्र हतियार प्रहरीलाई



नेपाल समाचारपत्र, । स्थानीय निकाय निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आह्वान गरिएको घरेलु हातहतियार संकलन प्रक्रियाअन्तर्गत् स्थानीय एक जनाले मात्र प्रहरीलाई हतियार बुझाएका छन् । जबकि, मकवानपुरमा अनुमतिप्राप्त ५९ थान हतियार रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार बुझाउन सूचना गरेको थियो । कार्यालयले सूचना जारी गरी स्थानीय निकाय निर्वाचनलाई दृष्टिगत गरी समाजमा शान्ति सुव्यवस्था कायम गराइराख्न साना तथा ठूला हातहतियार जिल्ला सुरक्षा समितिलाई बुझाउन सूचना जारी गरिएको थियो ।
अवैध हातहतियार नियन्त्रण गर्ने अभियानअन्तर्गत् जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कानुनबमोजिम अनुमति प्राप्त गरेका र अवैधरुपमा लुकाइ राखेका हातहतियार बुझाउन निर्देशन दिइएको हो । यस्ता हातहतियार जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्यरुपमा बुझाउन सूचना जारी गरिएको थियो ।
तोकिएको समय सीमाभित्र नबुझाइ लुकाइ राखेमा हातहतियार नियन्त्रण गर्ने विशेष योजनाअन्तर्गत् गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानुनअनुसार कडा कारबाही हुने प्रहरीले चेतावनी दिएको छ । स्थानीय प्रशासनले निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जानकारी दिएको छ ।
सरकारी अनुमतिमा मकवानपुरका ५९ जनाले हतियार राखेका छन् । तीमध्ये अन्य जिल्लामा राजस्व तिरेर मकवानपुर क्षेत्रमा हतियार राख्नेहरु पनि छन् । देशभर बोकेर हि“ड्न पाउने अनुमितप्राप्त हतियार जुनसुकै जिल्ला प्रशासन कार्यालयमा राजस्व तिरी नवीकरण गर्न पाइने व्यबस्था छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा गत आर्थिक वर्षमा २७ जनाले हतियारको राजस्व तिरेका थिए । बा“की हतियारको राजस्व अन्य जिल्ला प्रशासन कार्यालयमा बुझाइएको स्थानीय प्रशासनले जनाएको छ ।
अनुमतिप्राप्त हतियारमध्ये केहीले आर्थिक वर्ष २०६१÷०६२ देखि राजस्व बुझाएका छैनन् । १२ बोरको १ नाले बन्दुक र २२ बोरको २ थान राइफलको राजस्व आव २०६१÷०६२ देखि नबुझाइएको स्थानीय प्रशासनले जनाएको छ । २२ बोरको १ थान राइफल धनीले आर्थिक वर्ष २०७४÷०७५ सम्म राजस्व तिरी नवीकरण गरिसकेका छन् ।
मकवानपुरमा १२ बोरको २ नाले ५ थान बन्दुक बाहिर जिल्लाबाट इजाजत दिइएको देखिएको छ भने १२ बोरका १ नाले बन्दुक ६ वटा बन्दुक राख्ने अनुमति बाहिर जिल्लाबाट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्