निर्वाचनको तयारी अन्तिम चरणमा



चितवन, २९ वैशाख । आउँदो आइतबार हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । निर्वाचनका लागि १६१ वटा मतदानस्थलमा ३७६ केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार ती केन्द्रमा कर्मचारी पुगेर बिहीबारदेखि परिचयपत्र वितरण थालेका छन् । परिचयपत्र भोलिसम्म परिचयपत्र वितरण गर्ने छन् ।

यसै अवधिमा मतदान दिने स्थल व्यवस्थापनको काम पनि उनीहरुले गरिरहेको न्यौपानेले बताउनुभयो । एउटा केन्द्रमा मतदान अधिकृत एकजना, सहायक मतदान अधिकृत एकजना, नायब सुब्बा वा खरिदार दुईजना र दुईजना सहायकस्तरका कर्मचारी खटिएका छन् ।

जिल्लाका सात तहका ३७६ केन्द्रमा दुई हजार २५० जना कर्मचारी परिचालन गरिएको छ । सबै केन्द्रमा मतपत्रसहित आवश्यक सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो ।

मतदानस्थलमा केन्द्रको सङ्ख्याका आधारमा सुरक्षाकर्मी खटिसकेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम नौजनादेखि ३३ जनासम्म एकै स्थलमा खटिएका छन् । बाहिरी घेरामा सशस्त्र प्रहरीले गस्तीमार्फत सुरक्षा दिन थालिसकेको उहाँले बताउनुभयो ।

बाहिर रहेर मतदानस्थलको सुरक्षा नेपाली सेनाले पनि दिन थालेको भट्टले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीले सातवटै तहमा बेसक्याम्प निर्माण गरिसकेको छ । सोही बेसक्याम्पमार्फत मतदान केन्द्रको गस्ती उनीहरुले गरिरहेका छन् ।

“मतदानस्थल वरपरको क्षेत्रमा सेनाले गस्ती गर्नेछ,” उहाँले भन्नुभयो– “केही समस्या परेमा पाँच मिनेटभित्र सेना मतदान केन्द्रमा पुग्न सक्छ ।” जिल्लाका सात तहमा नेपाल प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजारभन्दा बढी परिचालन हुने उहाँले बताउनुभयो ।

जिल्लामा तीन लाख १३ हजार दुई मतदाता रहेका छन् । सात तहमा ९८ वटा वडा रहेका छन् । उनीहरुले सातजना प्रमुखसहित ५०४ जना जनप्रतिनिधि निर्वाचित गर्ने छन् । दलित र अल्पसङ्ख्यकबाट २० जना मनोनीत गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्