एसियाली युथ तथा जुनियर भारोत्तोलन हुने



काठमाडौं, (नेस)
नेपाल भारोत्तोलन संघको आयोजनामा १९औं युथ, २४औं जुनियर महिला तथा ३१औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिप जुलाई २२ देखि ३० तारिखसम्म हुने भएको छ।
प्रतियोगितामा पुरुष र महिला गरी जम्मा २ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष रतणकुमार तण्डनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगिताका खेलहरू लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ७५ लाख ९६ हजार ८ सय ९० रुपियाँ खर्च हुने बताइएको छ।

पत्रकार सम्मेलनका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिताको लोगो अनावरण गरेका थिए। सो अवसरमा सदस्य–सचिव विष्टले एसियाली स्तरको प्रतियोगिता हुनु नेपाली खेलकुदका लागि ऐतिहासिक अवसर भएको बताउँदै सफलरूपमा प्रतियोगिता सम्पन्न गरी अन्तर्राष्ट्रिय जगत्मा नेपाल पनि ठूलो प्रतियोगिता आयोजना गर्ने क्षमता राख्छ भन्ने सन्देश दिन जरुरी भएको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्