शिवरामको उपाधि संख्या ३५



नेपाल समाचारपत्र
काठमाडौं
शिवराम श्रेष्ठले सूर्य नेपाल एनजीपीए टुर च्याम्पियनसिपको ट्रफी बिहीबार जितेका छन्।

गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल गल्फ टुर २०१६–०१७ अन्तर्गत सातौं च्याम्पियनसिप जितेर शिवरामले १ लाख १० हजार रुपियाँको चेक पनि प्राप्त गरे। उनले लगातार चौथोपटक एक अन्डर ७१ स्कोर गरेर कुल ४ अन्डर २ सय ८४ स्कोर बनाएका हुन्। यो उनको यस सिजनको पाँचौं तथा करिअरको ३५औं उपाधिसमेत हो।

यस्तै दोस्रो स्थानमा रहेका सूर्यप्रसाद शर्मा शिवरामभन्दा दुई स्ट्रोकले पछि परेका थिए। सूर्यले हिजो दुई ओभर ७४ स्कोर गरे भने कुल १ ओभर २ सय ८९ स्कोर बनाएका थिए। उनले ७० हजार नगद हात पारे भने तेस्रो स्थानमा रहेर सञ्जय लामाले ५० हजार नगद सुरक्षित पारेका थिए।

यसै गरी रामे मगर र भुवन नगरकोटीले समान स्कोर जोडेर जनही ३७ हजार ५ सय प्राप्त गरेका थिए। जबकि राजेन्द्र थापामगरले पाँचौं स्थान कब्जा गरेर ३० हजार नगद आफ्नो बनाए। जयराम श्रेष्ठ र रवि खड्काले सातौं स्थान साझेदारी गर्दै समान २६ हजार रुपियाँ प्राप्त गरेका थिए। पशुपति शर्माले २३ हजार पाउँदा धन थापाले २१ हजार रुपियाँ हासिल गरेका थिए। च्याम्पियनसिपअन्तर्गत टंकबहादुर कार्कीले एमेच्योरको उपाधि हासिल गरेका छन्। तेन्जिङ छिरिङले दोस्रो स्थान प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्