आचार संहिताको पालना गरौं



गए राति १२ बजेदेखि मौन अवधि शुरू भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार पर्सि बिहान ७ बजेदेखि नै मतदान कार्यक्रम छ । यो मौन अवधिमा निर्वाचनका लागि उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने छैनन् भने सञ्चारमाध्यमहरुले पनि मतदाता प्रभावित हुने अथवा उम्मेदवारको प्रचार हुने किसिमले समाचार तथा विज्ञापन प्रकाशन⁄प्रसारण गर्न पाउने छैनन् । मतदानको काम पूरा नभएसम्म निर्वाचित हुने पदका लागि कुनै उम्मेदवारको पक्ष र विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै पनि प्रचारप्रसार गर्न नपाउने यो मौन अवधिमा विगतमा धेरै चलखेल भएको र निर्वाचन आचार संहिता उलंघन भएको सार्वजनिक भएको थियो ।

निर्वाचन आयोगको मौन अवधिमा कुनै पनि किसिमको प्रचारप्रसार हुन नहुने र आयोगको आचार संहिता अक्षरशः पालना गर्ने भनी दलहरूले प्रतिबद्धता पनि जनाएका छन् । तर, एकथोक भन्ने अर्थोक गर्ने दलहरूको विगतको परम्परा अहिले नदोहोरिएला भन्न सकिन्न । रातारात मतदातालाई प्रभावित पार्ने, यही अवधिमा उम्मेदवारहरूले मोटो रकम खर्च गर्ने, भोजभत्तेर खुवाउने, मतदाता किन्ने जस्ता क्रियाकलाप गरी मत आफ्नो पक्षमा पार्न दल तथा उम्मेदवारहरू र तिनीहरूका कार्यकर्ता नलाग्लान् भन्न सकिन्न । सुरक्षाको दृष्टिकोणले पनि यही
अवधिमा सुरक्षा व्यवस्थापनलाई कमजोर पार्ने खेल पनि नहोला भन्न सकिन्न ।

स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचनका लागि निर्वाचन आयोगले अपनाएको आचार संहिता पूर्णरूपमा पालना भएको छ कि छैन भनेर आम नागरिकले पनि निगरानी राख्नुपर्दछ । आचार संहिताअनुसार निर्वाचन केन्द्रको ३ सय मिटर वरिपरि दलहरूले यसअघि राखेको आ–आफ्नो निर्वाचन चिह्न तथा प्रचार सामग्री निकाल्नुपर्ने मात्र हैन अब यस्ता प्रचार सामग्री यहाँ प्रदर्शन गर्नसमेत पाइँदैन । मतदानको समयमा भोट हाल्न आउँदै गर्दा गौंडा ढुकेर मतदातालाई प्रभावित पार्ने काम पनि विगतमा भएको थियो । यस बारेमा पनि यस्ता गतिविधि भए स्वयं मतदाताहरुले सुरक्षा निकायलाई खबर गर्नुपर्छ । यो पहिलो चरणको निर्वाचन हो । दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुँदै छ । निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्ने र आचार संहिता उलंघन गर्नेलाई कडाइका साथ कारबाही नगरे दोस्रो चरणमा पनि यसको प्रभाव पर्न सक्छ । अतः आचार संहितालाई कडाइका साथ पालना गरौं⁄गराऔं र मौन अवधिमा नियम पालना भए⁄नभएको सबैले निगरानी गरौं ।

प्रतिक्रिया दिनुहोस्