मतदाताहरुको सुझाव – भोट लिनुस्, विकास र रोजगारी दिनुस्



रोशन पराजुली, हेटौंडा
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताहरुलाई यहाँका युवा मतदाताले प्रशस्त सुझाव दिएका छन्। युवाहरु अब हुने निर्वाचनमा आफ्नो पुर्खाले गरेको गल्ती नदोहोर्याउने बताउँछन्। अबको भोट विकासप्रेमी र रोजगारी प्रदान गर्ने जनप्रतिनिधिलाई दिनुपर्ने युवा मतदाता बताउँछन्।

मकवानपुरका विभिन्न स्थानका युवासँग कुराकानी गर्दा अधिकांशले बेराजगारीलाई ठूलो समस्याका रूपमा बताएका छन्। आफ्ना घरपरिवारले जग्गा जमिन धितो राखेर चर्को घरभाडा तिरेर पढेका युवा अन्ततः खाडी मुलुकमा पसिना बेच्न बाध्य भएकोमा चिन्ता व्यक्त गरेका छन्।

मकवानपुरका युवा जनप्रतिनिधिले पहिले बेरोजगारी समस्या हटाउनुपर्ने सुझाव दिइएको छ। हेटौंडा उपमहानगरपालिका–१ की संगीता ओझा भन्नुहुन्छ–म पहिलोपटक भोट हाल्दै छु, चुनावको बेला जति प्रचार गरिन्छ, त्यति पक्कै नहोला। तर जबसम्म बेरोजगारी समस्या समाधान हुँदैन, तबसम्म देशको विकास हुँदैन। ओझा भन्नुहुन्छ– ‘रोजगारी दिनुस्, जनताका छोराछोरी वाईफाई चलाएर बस्दैनन्, काममा व्यस्त हुन्छन्।’

भीमफेदी गाउँपालिका वडा नम्बर–९ का सुसन विश्वकर्मा भने स्थानीय तह चुनावबारे यस्तो बताउनुहुन्छ– ‘नेपाली जनताको दुई दशकको प्रतिक्षापछि हुन गइरहेको निर्वाचनमा स्वच्छ छवि भएका, इमानदार, कर्मठ र जनताप्रति सेवाभाव भएको जनप्रतिनिधिको अपेक्षा राख्दछु।’

मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा–१२ मा विज्ञान विषय अध्ययनरत् विश्वकर्मा जिल्ला बाल क्लब सञ्जाल समिति मकवानपुरका अध्यक्षसमेत रहनुभएको छ। उहाँ चुनावको विषयमा जिज्ञासा राख्दै हाल विद्यमान रहेको स्वास्थ्य, शिक्षा, यातायातलगायत सम्पूर्ण समस्याहरु चिर्दै उचित रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई भोट दिने बताउनुहुन्छ।

मनहरी गाउँपालिका वडा नम्बर–३ का सागर लम्सालले आफ्नो भोट पार्टीगत रूपमा भन्दा पनि जनताको सेवामा समर्पित हुनेलाई दिने भन्दै अब आउने जनप्रतिनिधि भ्रष्टाचारलाई नियन्त्रण गर्दै रोजगारीको सिर्जना गर्ने हुनुपर्ने अपेक्षा रहेको बताउनुभयो। हेटौंडा–१६, हटियाका हार्दिक खतिवडाले अबको भोट लोकतान्त्रिक मूल्यमान्यतालाई अवलम्बन गर्ने र जनभावना बुझ्ने तथा युवालाई रोजगारी दिनसक्ने क्षमता भएका उम्मेदवारले पाउने बताउनुहुन्छ। वीरगन्जमा निजामती कर्मचारीका रूपमा कार्यरत् खतिवडा अबको चुनावले विकासमा नयाँ आयाम ल्याउन सक्ने अपेक्षा राख्नुहुन्छ।

हेटौंडा उपमहानगरपालिका–२ का जोन पहाडी भन्नुहुन्छ–‘भाषण मात्र हैन, काम गरेर देखाउन सक्ने, समाजमा देखापरेका समस्या समाधान गरी देश र जनताको हितमा काम गर्न सक्ने, कुर्सीका लागि हैन जनताका लागि लड्ने, समाजको युवालाई प्रतिनिधित्वका रुपमा परिचालन गर्न सक्ने र वर्तमान हैन, भविष्यको खोजी गर्ने जनप्रतिनिधि आवश्यक छ। आफूले यस्तै अपेक्षासाथ पहिलो पटक भोट हाल्न लागेकाले हर्षित भएको पहाडी बताउनुहुन्छ।’

हेटौंडा–१६, चिसापानीका विवेक सापकोटा भने विकासप्रेमी, स्वच्छ राजनीतिक छवि भएका उम्मेदवारलाई भोट हाल्ने बताउँदै नयाँ प्रविधिसँगै युवालाई परिचालन गर्न सक्ने जनप्रतिनिधिको अपेक्षा रहेको बताउनुहुन्छ। पार्टीको झण्डा बोकेर हिँड्ने भन्दा पनि युवालाई रोजगारीका अवसर सिर्जना गरेर समाजमा भएका विकृति हटाउँदै विकासका कार्य ल्याउन सक्ने जनप्रतिनिधिको अपेक्षा रहेको हेटौंडा–४, कर्राकी आकृति तिमल्सिना बताउनुहन्छ।

मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत् विश्वम्भर कँडेलका अनुसार जनप्रतिनिधिका रूपमा चयन भइसकेपश्चात् पार्टीगत रूपमा भेदभाव नगर्ने र विकासप्रेमी जनप्रतिनिधि चयन हुनुपर्दछ। सिंहदरबारको अधिकार घरघरमा आउँछ भन्दै राजनीतिक दलले चुनाव प्रचार गरिरहँदा मतदाता अझ बढी उत्साहित छन्। तर, अधिकांश मतदाताहरु भने जनप्रतिनिधि कस्तो छानिने हुन् भन्ने चिन्तामा छन्। युवा पुस्ताका अधिकांश मतदाता भन्छन्– ‘भोट लिनुस्, विकास र रोजगारी दिनुस्।’ मकवानपुरका अधिकांश युवाको एउटै बुझाइ देखिन्छ।

प्रतिक्रिया दिनुहोस्