जनप्रतिनिधिको कार्यकक्ष तयार हुँदै



हेटौंडा
१९ वर्षपछिको स्थानीय निर्वाचन आउन चार दिन बाँकी छ। वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह पहिलो चरणको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई स्वागत गर्न हेटौंडा उपमहानगरपालिका कार्यालय ब्यग्र देखिएको छ।

उसले निर्वाचित भएर आउने नयाँ प्रमुख र उपप्रमुखलगायतलाई एसीसहितको नयाँ कार्यकक्ष बनाएर स्वागतको तयारी गरेको हो। हेटौंडा उपमहानगरपालिकाको साविक सूचना शाखा र प्रशासन शाखालाई मिलाएर उपमेयरको कार्यकक्ष तयार गरिँदै छ।

निर्वाचनमा आफ्नो पक्षमा नतिजा हात पार्न उम्मेदवार कस्सिएका छन्। मकवानपुरमा अत्यन्त आकर्षक मानिएको उपमहानगरको मेयर कसले जित्ला भन्ने चासो धेरैलाई छ।हालका सूचना अधिकारी शंकर उपाध्याय र प्रशासन प्रमुख जगन्नाथ सापकोटा बस्ने कार्यकक्षलाई जोडेर मेयरका लागि आकर्षक कार्यकक्ष तयार पारिँदै छ। उपमहानगर कर्मचारीहरु कार्यकक्ष तयार बनाउन लागिपरेका छन्। सबै कामको व्यवस्थापन जिन्सी शाखाले गरिरहेको छ।

लामो समयदेखि मेयर नभएर कर्मचारीले सम्हालेको कार्यालय कुनै अन्य स्थिति सिर्जना नभए जेठदेखि जनप्रतिनिधिले चलाउनेछन्। उपमहानगर सूचना अधिकारी उपाध्यायले मेयर र उपमेयरका निम्ति कार्यकक्षको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। कार्यकक्षको अघिल्तिर स्वकीय सचिवालय रहनेछ भने त्यसपछि प्रमुख र उपप्रमुखको कार्यकक्ष रहने गरी व्यवस्था मिलाइएको छ। यसका लागि केही थप व्ययभार परे पनि नगरपालिकाले तयारी अन्तिम चरणमा पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्