दोलखा घटना – पूर्व राज्यमन्त्रीसहित ३९ जनालाई ज्यान मुद्दा



चिरञ्जीवी मास्के,दोलखा

दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ का एमाले कार्यकर्ता ३३ वर्षीय कुलबहादुर तमाङको हत्या आरोपमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की, पूर्वराज्यमन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगायत ३९ जनाको नाममा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

मृतकका बुबा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ का एमालेका वडा सदस्यका उम्मेदवार गोरे तमाङले बुधबार उनीहरुको नाममा कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन्। अभियोग लगाइएका अन्य माओवादी केन्द्रका नेता कार्यकर्तामा दोलखाका विभिन्न गाँउपालिकाका ढालबहादुर खड्का, कृष्णमाया कार्की, एन्डिज कार्की, विश्वास कार्की, वसन्त कार्की, विर्मश कार्की, अर्जुन श्रेष्ठ, रोशन कार्की, पुष्कर अधिकारी, सुब्बा श्रेष्ठ, जितबहादुर जिरेल, विष्णु पाख्रिन, प्रकाशबहादुर खड्का, दिपेन्द्र खड्का, कर्णबहादुर कार्की, राजकुमार कार्की, सूर्यबहादुर कार्की, दिवस कार्की, साङदोर्जे शेर्पा, विरध्वज खड्का, टीकाबहादुर खड्का, शुक्रदेव कार्की, देवराज वस्नेत, सुरेश कार्की, सुनिल कार्की, टहलबहादुर केसी, प्रेमबहादुर खत्री, सविना खड्का, गोकुल कार्की, बलराम खड्का, भरत खड्का, विक्रम जिरेल, प्रेम तमाङ, निमा तामाङ, रामेछाप प्रितिका दीपक तामाङ र झापा बाहुनडाँडाका प्रेमबहादुर तामाङ रहेका छन्।

कर्तव्य ज्यान मुद्दा दर्तापछि एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रहरी प्रशासनको कमजोरीका कारण गम्भीर घट्ना भएको उल्लेख गर्दै आरोपीहरुलाई तत्काल पक्राउ गरेर छानविन शुरु गर्न माग गर्नुभयो। एमाले केन्द्रीय सदस्य तथा सांसद पार्वत गुरुङले माओवादी नेताको प्रत्यक्ष संलग्नतामा छापामार शैलीमा बर्बरतापूर्वक आफ्ना कार्यकर्ताको हत्या भएको उल्लेख गर्दै स्थानीय प्रशासनलाई घट्नाबारे बारम्बार जानकारी गराउँदासमेत वेवास्ता भएको गुनासो गर्नुभयो। घट्नाको छानविनका लागि दोलखा आउनुभएका अञ्चल प्रहरी कार्यालय जनकपुरका एसएसपी सुवास चौधरीले घट्नाको निष्पक्ष छानविन हुने र अपराधी छिट्टै पक्राउ पर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्