विप्लव समूहका ८७ कार्यकर्ता मध्यक्षेत्रबाट नियन्त्रणमा



नेपाल समाचारपत्र
हेटौंडा
स्थानीय तहको आसन्न पहिलो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह एक मुख्य चुनौतीको रूपमा रहेको मध्यक्षेत्र प्रहरीले औंल्याएको छ।

मध्यक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीले निर्वाचनका प्रमुख तीन चुनौती रहेको उल्लेख गर्दै आवश्यक सुरक्षा सतर्कता कायम गरिएको जानकारी गराएका छन्।

निर्वाचन बहिष्कार घोषणा गरेको विप्लव समूहका ८७ कार्यकर्ता मध्यक्षेत्रका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिइएको डीआईजी केसीले बताए। तीमध्ये केहीलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको उनले बताए।

‘प्रहरीले निर्वाचनमा ३ वटा चुनौती रहेको औंल्याएको छ’, डीआईजी केसीले भने– ‘राजनीतिक दलका कार्यकर्ताबीच हुनसक्ने झडप, आचारसंहिता उल्लंघनका आरोप–प्रत्यारोप पहिलो चुनौती हो। दोस्रो, विप्लव समूहले गर्नसक्ने अवरोध र तेस्रोमा मतदानका क्रममा व्यवस्थापकीय समस्या र कर्मचारीबाट हुनसक्ने कमीकमजोरी निर्वाचनका चुनौती हुन्।’

पहिलो र तेस्रो चुनौतीका लागि आवश्यक समन्वय र व्यवस्थापन सहज भए पनि विप्लव समूहको चुनौतीका लागि प्रहरी सघनरूपमा लागिपरेको डीआईजी केसीको भनाइ छ। प्रहरीले चितवन, धादिङ, नुवाकोट र सिन्धुलीलाई बढी संवेदनशील जिल्लाका रूपमा पहिचान गरेर सुरक्षा रणनीति तयार पारेको छ।

प्रहरीले सिन्धुलीमा ३ जना सरकारी शिक्षकलाई नै विप्लव समूहमा आवद्ध भएर निर्वाचनविरोधी कार्य गरेको अभियोगमा पक्राउ गरेको डीआईजी केसीले जानकारी दिए। मध्यक्षेत्रका १० जिल्लामा १ हजार २ सय ५० मतदानस्थलमा सुरक्षाका लागि प्रहरी पुगिसकेको उल्लेख गर्दै डीआईजी केसीले २ सय ५९ मतदानस्थल अतिसंवेदनशील र ३ सय ८४ मतदानस्थल संवेदनशील रहेको सुरक्षा विश्लेषण रहेको जनाए।

१० जिल्लाका ९८ स्थानीय तहलाई वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको र नगरक्षेत्रमा एकभन्दा बढी बरिष्ठ प्रहरी अधिकृत खटिएको डीआईजी केसीले स्पष्ट पारे। सुरक्षा संवेदनशीलताका आधारमा प्रहरीलाई जिल्ला, अञ्चल र क्षेत्रीय कार्यालयमा आवश्यकताअनुसार परिचालन गर्न जगेडामा राखिएको छ।

निर्वाचन सुरक्षाका लागि ८ हजार ६ सय ५४ प्रहरी खटिएका छन् भने सशस्त्र प्रहरी र नेपाली सेनाले पनि आवश्यकताअनुसार जनशक्ति परिचालन गरिएको बताइएको छ। मध्यक्षेत्रका १० पहाडी जिल्लामा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुँदै छ।

मध्यक्षेत्रका १० जिल्लामा १८ लाख २६ हजार १ सय ८० मतदाता छन्। ४ हजार ५ सय ३६ पदमा १८ हजार ९ सय ८८ उम्मेदवार छन्। नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका मेयरमा २ सय ४९ जना र उपमेयरमा १ सय ९१ उम्मेदवार छन्। ७१ गाउँपालिका अध्यक्षमा ४ सय ९२ र उपाध्यक्षमा ३ सय ७२ उम्मेदवार छन्। ८ सय ६८ वटा वडाका लागि अध्यक्षमा ४ हजार ५३ र सदस्यमा १३ हजार ७ सय ११ उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्