मतदाता परिचयपत्र वितरण शुरू



मोतीराम तिमल्सिना, काभ्रे
जिल्लाको निर्वाचनको तयारी र मौन अवधीका बारेमा प्रमुख जिल्ला अधिकारीले बिहीबार राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकहरूसँग अन्तरक्रिया गरेका छन्। प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका हुन्।

निर्वाचनको तयारी गरिरहँदा निर्वाचन बहिष्कार गर्ने शक्ति, प्राकृतिक समस्या, आचारसंहिताको उल्लघन, उम्मेदवारबीचको असमझदारी मुख्य चुनौती रहेको प्रजिअ सिंखडाले बताए। निर्वाचनका लागि कर्मचारी, सुरक्षाकर्मी सबै कार्यक्षेत्रमा पुगेर काम शुरु गरिसकेको उनले बताए। विकट मानिएका खानिखोला, तेमाल, महाभारत, रोशी, चौरी देउराली, भुम्लु गाउँपालिका र बेथाञ्चोक गाउँपालिकाका अलावा सबै नगरहरूमा रहेका मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेका छन्।

कर्र्मचारीहरूले आजबाट मतदाताहरूका लागि मतपत्र वितरण शुरु गर्नेछन्। जिल्लामा ३ सय ७ मतदान केन्द्रमा स्वंसेवकसहित झण्डै २२ सय कर्मचारीहरू खटिएका छन् भने ३५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाका लागि सादा पोशाकका कर्मचारीहरू उत्तिकै मात्रामा खटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए।

कर्मचारीहरूको टोलीले बिहीबारदेखि सबै मतदान केन्द्रमा पुगेर चार दिनसम्म मतदाता परिचयपत्र वितरण शुरु गरेका छन्। ३१ गते मतदान सम्पन्न गराइ निर्वाचनसम्बन्धीको कार्य सम्पन्न गरी निर्वाचन अधिकृतहरूलाई मतपेटिका बुझाएर फर्कनेछन्। ‘पाँच दिनसम्मको भत्ता र आवतजावतका लागि रकम भुक्तानी गरिएको छ’ –मुख्य निर्वाचन अधिकृत पौड्यालले भने– ‘सबै कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम सम्पन्न गर्न दुई दिनसम्म सञ्चालन गरिएको तालिममा जानकारी गराइएको छ।’ कर्मचारीहरूको तालिम सोमबार मात्रै सकिएको छ। जिल्लामा निर्वाचनका लागि मात्रै ३ करोड २९ लाख रकम खर्च हुनेछ। त्यस अघि कार्यालय व्यवस्थापनका लागि ७ लाख रुपियाँ प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतगणनाका लागि भने छुट्टै रकम खर्च हुने कार्यालयले जानकारी दिएको छ।

कर्मचारीहरूका लागि ३ करोडभन्दा धेरै खर्च हुनेछ भने निर्वाचन केन्द्रको व्यवस्थान र निर्वाचन अधिकृतले नियुक्ति गर्ने स्वयंसेवकका लागि छुट्टै रकम खर्च हुनेछ। सबै जिम्मेवारी निर्वाचन अधिकृतको हो। कार्यालयले अधिकृतहरूलाई नै सबै रकम भर्पाइ गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्येक निर्वाचन केन्द्रमा मतदाता भएको भन्दा पाँच प्रतिशत थप मतपत्र पठाउनेछ।

काभ्रेपलाञ्चोक जिल्लाका लागि २ लाख ३० हजार मतदाताका लागि कार्यालयले २ लाख ४९ हजार मतपत्र पठाएको छ। मतपत्रको थानमा बिग्रिएका मतपत्रहरूलाई बदर भनेर सही छाप र केरमेट गरी प्याकिङ गरिएको छ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन इन्सेक काभ्रेको सचिवालयमा रहने गरी ७ वटा संस्थाका ७५ जना पर्यवेक्षकहरूले निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन्। बिहीबार आयोजित तालिममा नियोगका ३३, निर्वाचन पर्यवेक्षण समितिका ९, मानव अधिकार संगठनका २५ गरी ७५ जनालाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्याल, प्रमुख जिल्ला अधिकारी शिव सिंखडा, इन्सेक काभ्रेका भोजराज तिमल्सिना, नेपाल बार एसोसिएसनका अध्यक्ष कृष्ण सापकोटाले तालिम प्रदान गरेका थिए।

धुलिखेल १२ को चुनाव सर्यो

राप्रपाका धुलिखेल १२ का वडा सदस्यका उम्मेदवार सुकलाल तामाङको निधन भएपछि निर्वाचन आयोगले उक्त वडाको निर्वाचन जेष्ठ ३ गतेका लागि सार्ने प्रस्ताव आयोगलाई पठाएको छ।

‘हामी उक्त वडाको निर्वाचन जेष्ठ ३ गते गर्नेर्छांै’ –प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले भने– ‘उम्मेदवारको निधन भएपछि उक्त स्थानमा पुनः निर्वाचनको कार्यक्रम प्रकाशन गरी निर्वाचनको कार्यक्रम गरिनेछ।’ धुलिखेलका ११ वटै वडाको निर्वाचन सम्पन्न गरी सोही दिन सोही वडाको मतदान सम्पन्नपश्चात मतगणना शुरु हुने सिंखडाले बताए।

प्रतिक्रिया दिनुहोस्