सामाजिक न्यायको माग आमरण अनसन



रविन भट्टराई, ताप्लेजुङ
सामाजिक न्यायको माग गर्दै ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका एक व्यक्ति आमरण अनसनमा बसेका छन्। फुङ्लिङ नगरपालिका तीनका नवीन गुरागाईं आफ्नो पुख्र्यौली जमिनको मुल्याङ्कन नगरी साहूले हडपेको भन्दै बुधबारदेखि सोही गुमेको जग्गामा आमरण अनसनमा शुरु गरेका हुन्।
सोही स्थानका राम बरालसँग केही वर्ष पहिले नगद लेनदेनका क्रममा आफूले २ लाख लिएर पटकपटक गरी विश्वासको आधारमा कागज नगरी १ लाख ५० हजार दिए पनि नदिएको भन्दै अदालतमा मुद्दा हाली सात रोपनी खेत हडपेको पीडित गुरागार्इंको गुनासो रहेको छ। बरालले अदालतमा मुद्दा हालेपछि आफ्नो वकिलले जिल्लाका सबै आफूले हेर्ने भन्दै आफूलाई जिल्ला आउनुनपर्ने आफैं सबै गर्ने भनेर आफ्नै वकिलले फसाएको उनले बताए। उनी व्यवसायको सिलसिलामा परिवारसहित काठमाडौं बस्दै आएका थिए।

विपक्षी वकिल र साहु राम बरालले अनसनरत गुरागाईंको धान खेती हुने सडक छेउको सात रोपनी जग्गाको मूल्याङ्कन कम देखाइ स्थानीयसँग पनि सोही आधारको मुचुल्का बनाइ अदालतमा पेश गरी आफूलाई फसाएको उनको दुखेसो रहेको छ। थोरै रकममा नै आफूले सबै पुख्र्यौली जमिन गुमाउन पुगेकाले अब समाजले नै यसको निसाफ खोजिदिनुपर्ने उनको माग रहेको छ।

उनले आफूसँग भएको पुख्र्यौली जमिन पनि आफ्नै वकिल सुजन दाहाल र राम सुवेदीको मिलेमतोमा साहु बरालले कब्जा गरेको साथै अन्य साहु पनि धेरै रहेकाले सो जग्गाको समाजले नै मूल्याङ्कन गरी सबै साहुको ऋण तिरी आफू ऋणबाट मुक्त हुन चाहेको बताएका छन्। यता साहु राम बरालले आफूले कानुनी प्रकृया पूरा गरी जग्गा लिएकाले कानुनबाहेक आफू अरुको कुरा नमान्ने प्रतिकृया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्