उम्मेदवारद्वारा बाजागाजासहित र्यालीको आयोजना



पुष्कर बुढाथोकी, भक्तपुर
आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार एवं घरदैलो अभियान गर्दै मत माग्न पाउने बिहीबार अन्तिम दिन भक्तपुरका चारवटै नगरपालिकाको टोलटोलमा र्याली आयोजना गरिएको छ।

बिहान ७ बजेदेखि नै उम्मेदवारहरूको टोलीसहित विभिन्न दलहरूले र्यालीसहित टोलटोलमा पुगेर घरदैलो अभियान गर्दै भोट मागेका छन्। नेपाली कांग्रेस मध्यपुरनगर समितिले बिहीबार बिहान यहाँ आयोजना गरेको बृहत महिला र्यालीमा बाजागाजासहित हजारौं महिलाको सहभागिता रहेको थियो।मध्यपुरथिमिमा नेपाली कांग्रेसकातर्फबाट मेयरका उम्मेदवार अष्टकुमार कवें र उपमेयरका उम्मेदवार अन्जना मढीकर्मीको नेतृत्वमा र्याली शुरू भएको थियो।

थिमिको टोलटोलबाट निस्किएको महिला र्याली बालकुमारीमा भेला भई त्यहीबाट दुईपोखरी, चपाचो, खाहाखाबजार, नगदेश हुँदै बोडे गएर समापन भएको थियो। समापन क्रममा बोल्दै मेयरका उम्मेदवार कवेंले मध्यपुरथिमि नगरपालिकाको समग्र विकासका लागि कांग्रेसलाई मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको थियो।

यता प्रतिस्पर्धी पार्टीका रूपमा रहेको नेकपा एमालेका मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठ र उपमेयरका लागि नेमकिपाका उम्मेदवार केदार खड्कासहितको बृहत र्याली मध्यपुरथिमिको विभिन्न भागमा परिक्रमा गरेको छ। घरदैलो कार्यक्रम अभियानअन्तर्गत मध्यपुरथिमिका बाँकी रहेका क्षेत्रका मतदातासँग मत माग्न वडा नम्बर ५ बाट शुरू गरेको र्याली सहितको घरदैलो अभियान नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरेको थियो।

र्याली शुरू हुनुअघि सम्बोधन गर्दै एमालेका तर्फबाट मेयरका उम्मेदवार श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाको काँचुली फेर्न र जनताको प्रत्येक समस्या समाधान गर्दै विकासमा लम्कन एमालेलाई मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो। मध्यपुरथिमि नगरपालिकामा माओवादी केन्द्रलेसमेत र्याली प्रर्दशन गर्दै मत मागेको छ। थिमिको शंखधर चोकबाट शुरू भएको घरदैलो अभियान बालकुमारी, चपाचो, बाहाखाबजार, नगदेश, बोडे हुँदै टिगनी पुगेर समापन भएको थियो।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार उर्मिला श्रेष्ठ र उपमेयरका उम्मेदवार सुचित्रा श्रेष्ठले मध्यपुरथिमिलाई साँस्कृतिक र पुरातात्विक धरोहरका रूपमा स्थापित गराउन संग्रहालय स्थापना गराउने र प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्घोष गर्नुभयो।

यता मध्यपुरथिमिमा राप्रपाले पनि मेयरका उम्मेदवार राधा अधिकारी र उपमेयरका उम्मेदवार नरगोविन्द शंखदेवले पनि घरदैलो अभियान सञ्चालन गरेर भोट मागेका छन्। नयाँ शक्तिका उम्मेदवार ज्ञानराम श्रेष्ठले पनि घरदैलो अभियान गर्दै भोट मागेका छन्।

यता भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीले मेयरका उम्मेदवार सुनिल प्रजापति र उपमेयरका उम्मेदवार रजनी जोशीले पनि र्यालीसहित घरदैलो अभियान सञ्चालन गर्दै भोट मागेका छन्। यस नगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट मेयरका उम्मेदवार रामप्रसाद कासुला, उपमेयरकी उम्मेदवार गंगालक्ष्मी अवालले पनि र्यालीसहित मतदाताको घरघरमा पुगेर भोट माग्नुभएको छ।

भक्तपुर नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार रहेका विष्णुप्रसाद सुवाल, उपमेयर कृष्णमाया त्वायनावासु तथा माओवादी केन्द्रका मेयरमा उम्मेदवार सत्यलाल मूल र उपमेयरकी उम्मेदवार इन्द्रमाया सुवालले पनि आ–आफ्नौ पार्टीको तर्फबाट आयोजना गरेको घरदैलो अभियानमार्फत घरघरमा गएर भोट मागेका छन्।

सूर्यविनायक नगरपालिकामा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेले आज पनि र्यालीसहित घरदैलो अभियान सञ्चालन गरेको छ। नेपाली कांग्रेसका मेयरका उम्मेदवार विष्णुराज कार्की र उपमेयरकी उम्मेदवार कल्पना राजथलासहितको टोलीले घरघरमा पुगेर भोट मागेको हो।

नेकपा एमालेका मेयरका उम्मेदवार वासुदेव थापा र उपमेयरकी उम्मेदवार जुना बस्नेतले पनि र्यालीसहित घरदैलो कार्यक्रममार्फत नाचगान गर्दै घरघरमा पुगेर एमालेलाई मतदान गर्न आग्रह गर्नुभएको छ। यस नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेदवार जीवन तज, उपमेयर पुण्यवती चौलागाई तथा नेमकिपाका मेयरका उम्मेदवार मनशोभा सुवाल र महेन्द्र बखुन्छेले पनि र्यालीसहित घरदैलो अभियान गरेर भोट मागेका छन्।

यता बिहानैदेखि चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजाराम खड्का र उपमेयरकी उम्मेदवार राधा बानियाँ (सरु) ले पनि पार्टीले आयोजना गरेको र्यालीमा सहभागी हुँदै घरघरमा गएर भोट माग्नुभएको छ।

यता एमालेका मेयरका उम्मेदवार सोम मिश्र र उपमेयरकी उम्मेदवार विना वास्तोलाले पनि बाजागाजाका साथ निस्किएको र्यालीमा सहभागी हुँदै घरघरमा गएर भोट मागेका छन्। नगरपालिकामा नेमकिपाका मेयरका उम्मेदवार न्हुछेँभक्त फोजू र उपमेयर गीता काफ्ले र राप्रपाका मेयरका उम्मेदवार रविन्द्रप्रताप शाह र उपमेयर यवती कार्की तथा माओवादी केन्द्रका मेयरका उम्मेदवार शिव अधिकारी र उपमेयर लक्ष्मी खड्काले पनि आ–आफ्ना पार्टीले आयोजना गरेको र्यालीसहित आज प्रचारको अन्तिम दिन घरघरमा पुगेर भोट मागेका छन्।

प्रतिक्रिया दिनुहोस्