निर्वाचन आचारसंहिता, सरकारका लागि कडा, विपक्षका लागि नरम



नेपाल समाचारपत्र
लमजुङ
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेले आचारसंहितको पालना दलहरूको नैतिकताको विषय भएको बताउनुभएको छ। उहाँले जिल्ला निर्वाचन कार्यालय लमजुङले बेंसीशहरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बिहीबार सो धारणा राख्नुभएको हो।

उहाँले– ‘आचारसंहिता सरकारका लागि कडा र विपक्षीका लागि कमजोर भएको अनुभव गरेको बताउँदै यसलाई निर्वाचन आयोग एक्लैले बनाएको नभई यसमा दलहरूले सहमति गरी पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा यसको पालना गर्नु सबै दलहरूको दायित्व हो,’ भन्नुभयो। यसै गरी, निर्वाचन खर्चका बारेमा सहभागीको जिज्ञासा उहाँले धेरै चुनाव खर्च गर्नेलाई भोट नदिनुहोला। किनकि, भोलिका दिनमा उसले कस्तो काम गर्छ ? भन्ने प्रश्न गर्दै चुनावमा धेरै खर्च गर्नेहरू आर्थिक अनुशासनमा बस्न सक्दैनन् भन्नुभयो।

स्थानीय निकायको निर्वाचन ऐतिहासिक हुनुका साथै संविधानको कार्यान्वयनको कडीसमेत भएको हुँदा १२० दिनको अवधि आवश्यक हुनुपर्नेमा ८३ दिनमा सम्पन्न गर्न आयोग तयार भएको आयुक्त पौडेलले बताउनुभयो। उहाँले आफूसहितका तीन आयुक्त आयोगमा आएको मात्र २ महिना २१ दिन मात्र भएको जानकारी दिनुभयो।

उहाँले हिजोका दिनमा प्रवक्ता भएर पत्रकारहरूसँग सहकार्य गरेको स्मरण गर्दै आफूलाई ७५ प्रतिशत पत्रकार भएको ठान्ने गरेको बताउँदै निर्वाचनको तयारीका क्षेत्रमा सञ्चारजगतले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै सहयोग पाइरहने विश्वास व्यक्त गर्नुभएको थियो।

उहाँले आफू बेंसीशहरमा निर्वाचनको तायरी, सुरक्षा स्थिति र आचारसंहिताको पालना आदि कार्र्य के कसरी भइरहेको छ, यसप्रति कुनै तपाईंहरूका जिज्ञासा भए मेट्नुपर्यो भन्ने भनेर बुझ्न आएको बताउनुभयो।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जिल्लाको सुरक्षा तयारीसहितका विषयमा जानकारी दिँदै स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने तयारी पूरा गरिएको जानकारी दिनुभयो।

यसै गरी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले निर्वाचनका लागि मतदाता नामावलीदेखि मतदाता शिक्षासहित आजबाट निर्वाचन केन्द्रबाट मतदाता परिचयपत्र वितरण हुनेसम्मको जानकारी दिनुभएको थियो।

लमजुङका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले अध्यक्षतामा भएको कार्यक्रममा उहाँले कार्यक्रममा सहभागिता र जिज्ञासाका लागि सबैलाई धन्यवाद दिँदै सकेसम्म विवाद रहित ढंगले निर्वाचन सम्पन्न गर्न आफूहरू लागि रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्