रुकुममा कांग्रेस एमालेको संयुक्त सभा



धनवीर दाहाल, रुकुम । रुकुमको एक गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच तालमेल भएपछि संयुक्त जनसभा गरेका छन् । रुकुम जिल्लाको बाँफिकोट गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त चुनावी सभा भएको हो ।

माओबादी केन्द्रको आधार इलाका मानिएको बाँफिकोटमा माओबादी केन्द्रको तर्फबाट गाँउपालिका अध्यक्षमा धर्मबहादुर के.सी र उपाध्यक्षमा मनकला पुन सँग नेकपा एमालेको सर्मथनमा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार जनककुमार बाँठा र नेपाली कांग्रेसको सर्मथनमा नेकपा एमालेका व्युझना पुन उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।

१० वटा वडा रहेको बाँफिकोट गाँउपालिकामा अधिकांश वडामा नेपाली कांग्रेस र नेकपा एमालेबिच तालमेल भएको छ भने केही वडामा एक्लाएक्लै भिड्दै छन् ।
कांग्रेस एमालेको संयुक्त प्यानलले बाँफिकोटमा बिजयी हासिल गर्ने दावी गरेको छ । अध्यक्षका उम्मेदवार जनककुमार बाँठाले आफ्नो प्यानल बिजय भएरै छाड्ने दावी गर्नुभयो ।

आफुलाई कांग्रेस एमाले मात्र नभएर आम मतदाताको सहयोग रहेको बताउनुभयो । यस्तै उपाध्यक्षका उम्मेदवार व्युझना पुनले आम मतदाता आफ्नो पक्षमा रहेको बताउँदै जित सुनिश्चित भएको बताउनुभयो ।

संयुक्त सभामा कांग्रेसको तरुण दल र एमालेको युथ फोर्सका डे«स लगाएका युवाहरुको बाक्लो उपस्थितीले कार्यक्रम रोचक देखिन्थ्यो । उनीहरुको सभामा एमालेको सुर्य अंकित झण्डा र कांग्रेसको रुख अंकित झण्डाले बाँफिकोटको नेटाबजार भरिभराउ देखिएको थियो ।

सभा गर्नुभन्दा अघि दुवै पार्टीले संयुक्त रुपमा ठाँउ ठाँउबाट नारा जुलुश सहित बाँफिकोट बजार परिक्रमा गरेका थिए । यसै गरी ति दलहरुले घरदैलो पनि गरिरहेका छन् ।

तालमेल भएपछि चुनाव चिन्ह चिनाउने र नमुना मतदान गर्ने गरिरहेका छन् । एमालेको उम्मेदवारले रुखमा र कांग्रेसको उम्मेदवारले सुर्यमा मत माग्दा झनै रोचक देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्