शिवराम पहिलो स्थानमा उक्लिए



काठमाडौं, (नेस)
सूर्यप्रसाद शर्माको प्रदर्शन बुधबार खस्किएपछि नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ तेस्रो दिन शीर्ष स्थानमा उक्लिएका छन्।

गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपअन्तर्गत तेस्रो चरणपछि शिवरामले सूर्यमाथि दुई स्ट्रोक अग्रता लिएका छन्। दोस्रो दिनसम्म सूर्यले प्रतियोगितामा वर्चस्व बनाएका थिए। शिवरामको तीन अन्डर २ सय १३ स्कोर छ भने सूर्यले एक अन्डर २ सय १५ स्कोर बटुलेका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका सञ्जय लामाले २ सय १६ स्कोर गरेका छन्। यी थ्री एस गल्फरबीच आज उपाधि भिडन्त रोमाञ्चक हुने पनि अनुमान लगाउन सकिन्छ। यसैगरी रामे मगरले तीन ओभर २ सय १९ स्कोर गर्दा एमेच्योर खेलाडी टंकी कार्कीले पनि रामेकै स्कोरसँग बराबरी गरेका थिए। भुवन नगरकोटी चार ओभर २ सय २०, राजेन्द्र थापामगर ५ ओभर २ सय २१ र रवि खड्का ६ ओभर २ सय २२ स्कोरमा रहेका छन्। एमेच्योर तेन्जिङ छिरिङ नौ ओभर २ सय २५ स्कोरसहित एमेच्योरतर्फका शीर्ष स्थानमा रहेका टंकभन्दा ६ स्ट्रोकले पछि छन्। जयराम श्रेष्ठले भने १० ओभर २ सय २६ स्कोर जोडेर सबैभन्दा खराब प्रदर्शन गरे।

प्रतिक्रिया दिनुहोस्