लगानीको नयाँ मोडल लिएर आउँदैछौं



विजय राजभण्डारी
अध्यक्ष तथा प्रबन्ध निर्देशक, सीई कन्ट्रक्सन प्रालि

२५ वर्ष अगाडि तीन लाख रुपियाँको पुँजीबाट शुरू भएको सीई कन्ट्रक्सन प्रालि आज नेपालको रियलस्टेट एवम् निर्माण जगतमा एउटा अग्रणी संस्थाका रूपमा स्थापित भएको छ। यतिमात्रै होइन उक्त संस्था जलविद्युत्, अस्पताल, होटल, बैंकलगायतका क्षेत्रमा पनि प्रवेश गर्दै नेपालको उदाउँदो एक ‘ग्रुप अफ कम्पनी’ भएको छ। साढे दुई दशकको अवधिमा कम्पनीले २६५ वटा परियोजनाहरू पूरा गरिसकेको छ।

कम्पनीमा हाल ८ सय जना कर्मचारी कार्यरत छन् भने यसबाट २ हजारभन्दा बढी मानिसले अप्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। हाल ४५ वटा परियोजना सञ्चालनमा रहनुका साथै ३ सय वटा घर निर्माणको चरणमा रहेका छन् । भारतबाट सिभिल इन्जिनियरिङ र अमेरिकाबाट एसएस गर्नु भएका विजय राजभण्डारी हाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक हुनुहुन्छ। काठमाडौंको यंगालमा जन्मिनु भएका राजभण्डारीले कम्पनीमा आबद्ध सबै व्यक्तिको सामूहिक प्रयासका कारण सफलता प्रँप्त गर्न सकिएको बताउनुहुन्छ, यसै सन्दर्भमा साढे दुई दशकको अवधिमा कम्पनीले प्रँप्त गरेको उपलब्धि र भावी योजनाका बारेमा राजभण्डारीसँग नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठ र दीपेन्द्र थापाले गर्नुभएको कुराकानी ।

कुन उद्देश्य लिएर २५ वर्ष अगाडि सीई कन्सट्रकसन कम्पनी स्थापना भएको थियो ?

विकासका लागि केही काम गरौं भन्ने उद्देश्य लिएर कम्पनी स्थापना गरिएको हो। अरुले गर्दै आएको कामलाई नयाँ तरिकाबाट गर्ने तथा अरुले नगरेको काम पनि गर्न सकिन्छ कि भनेर सानो पुँजीमा हामीले कम्पनी स्थापना गरेका हौं। मैले सिभिल इन्जिनिरिङका साथै कन्सट्रक्सन म्यानेजमेन्टको अध्ययन पूरा गरेपछि देश विदेशमा केही काम गर्ने अवसरमा पाएँ। त्यही कामको अनुभवका आधारमा नेपालमा कन्सट्रक्सनको क्षेत्रबाट काम शुरू गर्दा विश्वसनीय तरिकाले काम गरौं भन्ने सोच भयो। त्यसमा उच्च प्रतिफल प्राप्त गर्नलाई साझेदारीको अवधारणामा जानुपर्छ भन्ने लाग्यो, त्यस क्रममा हामीले हाम्रा साझेदारहरू चयन गर्यौं।

साझेदार चयन गर्दा जसले व्यवसायमा कुनै न कुनै प्रकारले योगदान गर्न सकोस् भन्ने मान्यताका साथ ६ जनाको टिम बनायौं। घरबाटै कुर्सी टेबुल लगेर एउटा कोठाबाट हामीले कम्पनीको शुरूआत गरेका थियौं, हामीले काम गर्दा पारदर्शीतालाई पनि जोड दियौं। उल्लेखित कुरालाई जति धेरै समेट्न सक्यो, व्यवसाय त्यति राम्रो र दिगो हुन्छ, भन्ने हाम्रँे मान्यता छ।

स्थापनाको रजत जयन्ती मनाइसकेको सीई कन्सट्रक्सन कम्पनीले अहिले कुन–कुन क्षेत्रमा आफूलाई सहभागी गराएको छ ?

हाम्रो मुख्य क्षेत्र त कन्सट्रक्सन नै हो, त्यससँगै हाउजिङ छ। सँगै हामीले आर्किटेक्चल फर्म पनि शुरू गरेका छौं। डिजाइन, प्रोजेक्ट म्यानेजमेन्ट क्षेत्रमा छौं। यसका साथै स्वास्थ्य क्षेत्रअन्तर्गत ग्रान्डी इन्टरनेसनल हस्पिटलमा सहभागी छँैं। शैक्षिक क्षेत्रमा पनि हामीले हात हालेका छौं, ट्रेनिङ इन्ष्टिच्युट जस्तै एस इन्ष्च्यिुट म्यानेजमेन्टमा हामी सहभागी छौं। हाइड्रोपावरमा पनि काम गरिराखेका छौं। वित्तीय क्षेत्रअन्तर्गत भिबोर सोसाइटी विकास बैंकमा सहभागी छौं। हस्पिटालिटीमा पनि सहभागी हुँदैछौं। अर्को शब्दमा भन्नु पर्दा हामी लगानीको नयाँ मोडल लिएर आउँदैछौं।

२५ वर्षको दौरानमा व्यवसायलाई यो उचाईंसम्म पुर्याउने क्रममा यहाँको कस्तो अनुभव रह्यो ?

हामीले व्यवसाय शुरू गर्दा वातावरण त्यति सहज थिएन। काम गर्न सक्छन् कि सक्दैनन् भन्ने आशंका थियो। शुरुमा एकदमै गाह्रो थियो तर विस्तारै हाम्रो कम्पनीलाई विश्वास गर्न थाले। समयमै काम गर्ने व्यावसायिक कम्पनीको परिचय पाउन थाल्यो, थोरै मूल्यमा राम्रो काम गर्ने भनेर स्थापित हुँदै गएपछि हामीलाई व्यवसाय गर्न सहज भयो, हामीले मिलीजुली काम गर्दै गयौं, अहिले हामीलाई कामको कुनै समस्या छैन।

यहाँहरूले व्यवसाय शुरू गरेको केही समयपछि नै मुलुक चरम द्वन्द्वमा फस्यो, कयौं व्यवसायी धराशयी भए, देशको अर्थतन्त्र डामाडोल भएको स्थितिमा यहाँहरूले कसरी त्यसलाई चिरेर सफलता प्राप्त गर्न सक्नुभयो ?

हामी आफैं दिनरात काममा खटियौं, हामीले गरेको मेहनत मान्छेले देखेका छन्, बुझेका छन्। हामीले सफलता प्राप्त गर्नुमा हाम्रो मुख्य स्ट्रेन्थ भनेको प्रोजेक्ट सेलेक्सन नै हो। हाम्रा भेन्डर्सहरूलाई पनि सम्झायौं, सहयोगको भावना बढायौं। धेरै प्रोजेक्ट्स ल्यायौं, रोटेसन गर्यौं, डाइनामिक मोडल प्रयोग गर्यौं।

अनिश्चितता र जोखिमलाई म्यानेज गर्यौं। रणनीति पनि त्यसैअनुसार बनायौं। कहाँ के भइराखेको छ, के गर्नुपर्छ भन्ने कुरालाई हामीले व्यवस्थापन गर्न सकेकै कारण हामी सफल हुन सक्यौं।

यहाँको कम्पनीले मुख्य प्राथमिकता कुन क्षेत्रमा दिइरहेको छ ?

अहिले हामीले चारवटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। सबैभन्दा पहिले देशलाई आवश्यक पर्ने हाम्रो पनि ठूलो प्रोजेक्टको रुपमा रहेको हाइड्रोपावरलाई राखेका छौं। दोस्रोमा रियलस्टेट, तेस्रोमा कन्ट्रयाक्टरको रुपमा काम गर्ने भनेका छौं र चौंथोमा सपोर्ट बिजनेसलाई स्थापना गरेर चलाउने भनेर लागिपरेका छौं, सबैमा विभिन्न मोडेल छ। रियलस्टेट र हस्पिटालिटीसँगै लिएर जाने भन्ने कुरा रहेको छ। हाइड्रोपावरमा हामी कन्ट्याक्टर, डेभलपर्स, सबकन्ट्याक्टर, इन्भेस्टर जस्ता भूमिकामा आउन सक्छौं।

कन्ट्याक्टरको रुपमा २३ दशमलब ५ मेगावाटको अपर सोलु हाइड्रोपावरमा हामीले काम गरिराखेका छौं। दुईवटा हाइड्रोपावरको लागि आफैं डेभरलपर्स भएर आउन सर्भे लाइसेन्स पाइसकेका छँैं। ४१ मेगावाटको मिडिल मेवा र १११ मेगावटको दूधकोशीको डेभलपर्स भएर आउने तयारीमा छौं।

हाइड्रोपावर लामो प्रोसेसपछि नाफा दिने व्यवसाय हो, यसलाई छिटो नाफा दिने व्यवसाय पनि बनाउन सकिन्छ कि यस विषयमा यहाँको सोच के छ ?

अवश्य नै छ, हामी पैसा भएर हाइड्रोपावरमा लगानी गर्न आएको होइन, हामीले लगानीकर्ताहरूलाई समेटेर ल्याउने हो। लगानीकर्ताहरू लामो समय भयो भने अत्तालिन्छन्, विश्वास नहुन सक्छ, त्यस कारणले आयोजनाहरूलाई कसरी अगाडि बढाउने, कसरी छिटो पूरा गर्नेलगायतका वित्तीय मोडेल हामी कहाँ छ, त्यसकारण प्रतिफल लिन ७⁄८ वर्षसम्म कुर्न पर्दैन होला।

रियलस्टेट व्यवसायलाई राज्यले अलि हेयको दृष्टिले हेरिरहेको देखिन्छ, राष्ट्र बैंकले त यसलाई अनुत्पादक क्षेत्रका रूपमा परिभाषित गरेको अवस्था छ।

तपाईंहरू आफैंले चाहीँ यो क्षेत्रलाई कस्तो पाउनु भएको छ ?

प्रवृत्ति नै हेपाहा छ, यो क्षेत्रलाई अनुत्पादक क्षेत्र कसरी भन्ने, कयौं मान्छेले यस क्षेत्रमा रोजगार पाइराखेको छन्। सरकारले निजी क्षेत्रले दिनेजस्तै आवासको सुविधा दिन सकेको छैन। निजी क्षेत्रले दिने आवासमा सबै चिजको व्यवस्था छ, स्वच्छ ठाउँमा बस्नु र प्रदुषित ठाउँमा बस्नु फरक भइहाल्छ। हामी एउटा कम्पनीले त ३–४ हजार जनालाई रोजगारी दिएका छौं, यो कसरी अनुत्पादक क्षेत्र हुन आयो। त्यसमा प्रयोग हुने ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, डण्डी निर्माण गर्न कयौं उद्योग सञ्चालनमा छन्, यसबाट कयौं रोजगारी सिर्जना भएको छ, राज्यले राजस्व प्राप्त गरेको छ बैंकले ब्याज पाएका छन्। उद्योग व्यवसाय चलेका छन्, अर्थतन्त्र चलायमान भएको छ भने यो क्षेत्र कसरी अनुत्पादक क्षेत्र भयो, हो एउटा व्यक्तिले १०औं करोड रुपियाँको घर बनाउन थाल्यो भने त्यो केही अनुत्पादक क्षेत्र होला। तर, रियलस्टेट डेभलपर्सले बनाइराखेको छ भने त्यो कुनै लक्जरीको लागि होइन, त्यो त आवश्यकता हो। यसमा सरकारले गर्नुपर्ने कयौं काम व्यवस्थित शहर, ढल, पानी, सडक, बिजुलीलगायतका पूर्वाधार निजी कम्पनीहरू पुर्याइरहेको अवस्था छ, बास्तवमा सरकारले एउटा निश्चित जमिनमा पूर्वाधार पुर्याएर कम्पनीहरूलाई काम गर भनेर छुट्टाइदिनुपर्ने हो।
व्यवसाय सञ्चालनको यतिका वर्षको अनुभवमा हाउजिङ क्षेत्रमा आम मानिसको सोच कस्तो पाउनु भएको छ ?

आफ्नै घर होस् भन्ने चाहना सबैको हुन्छ तर सबैभन्दा पहिला आफूले चाहेको अनुसार बन्छ कि बन्दैन, पैसा छ कि छैन यी सबैको कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ। कतिपयले आफ्नो घर शहरभित्रै चाहिन्छ भन्छन्। शहरभित्र जग्गा नै आनाको ३० लाखको हुन्छ, एउटा गाडी पनि राख्ने ठाउँ पनि खोज्दा ४⁄५ आना हुन्छ। हामीले ब्याज, मापदण्डमा छोडेको जग्गाको मूल्य जोड्दा ५ आना जग्गाको करिब साढे २ करोड रुपियाँ हुन्छ। ४⁄५ हजार स्क्वार फिटको घर निर्माण हुँदा त्यसको मूल्य कम्ति पनि ३ करोड रुपियाँको हुन्छ। आफूसँग १ करोड रुपियाँ छ अनि ३ करोडको घरको सपना देख्नुभएन। १ करोड रुपियाँमा घर कस्तो ठाउँमा पाइन्छभन्दा रिङरोडभन्दा केही टाढा, घर पनि सानो, फिनिसिङ पनि त्यही अनुसार हुन्छ, त्यसलाई आमजनताले बुझ्नुपर्छ।

नेपालमा रियलस्टेटले एउटा चरण पार गरिसकेको अवस्था छ, यो क्षेत्रमा बिक्रीपछिको सेवाको स्थिति कस्तो छ ?

मैले अमेरिका काम गर्दा त्यहाँका कम्पनीमा पोस्ट कन्सट्रकसन सर्भिसलाई निक्कै महत्त्व दिएको पाएको थिएँ, बिक्रीपछि ग्राहकलाई मर्मतलगायतका अन्य सेवा सुविधा चाहिने हुन्छ, त्यसमा त्यहाँ कम्पनीले दिने सेवा एकदमै राम्रो लाग्यो। पछि हामी आफैंले व्यवसाय शुरू गर्दा पनि त्यो कुरालाई हामीले निक्कै महत्त्व दिँदै आएका छौं। साथै हामीले यस्तो सुविधा दिँदा अरुभन्दा फरक पजि हुन्छँैं भन्ने मनसायले हामीले त्यस्तो काम गर्ने छुट्टै कम्पनी बनाएका छौं। हामीले ग्राहकलाई बिक्रीपछि उहाँहरूलाई आवश्यक पर्ने सेवा सुविधा दिन्छौं, त्यसले हाम्रोप्रति ग्राहकमा आकर्षण पनि ल्याएको छ, सीई कम्पनीको मेरुदण्ड भनेको बिक्रीपछिको सेवा हो।

एउटा आम मानिसले व्यक्तिगतरूपमै घर बनाउन सहज हुन्छ कि कम्पनीमार्फत् लिँदा सहज हुन्छ ?

त्यो तुलना नै गर्न सकिन्न, व्यक्तिगत रुपमा घर बनाउँदा नेपालमा मुख्य कुरा जग्गा प्राप्तिको कुरा आउँछ। जग्गा किन्दा ब्लुप्रिन्ट अनुसारको फिल्डमा हुँदैन फिल्ड र ब्लुप्रिन्टमै फरक हुन्छ, कतै राजकुलो, कतै के समस्याको सामाना गर्नुपर्छ। नक्सा पास गर्न पनि त्यतिकै समस्या हुन्छ। सबैलाई निर्माण सामग्री छनोट गर्ने विषयमा पनि त्यति ज्ञान हुँदैन, बिल्डिङ टेक्नोलोजी पनि थाहा हुँदैन, घर बनाउँदा सुपरभाइजरलाई पनि छुट्टै राख्नुपर्ने हुन्छ। डिजाइनरको शुल्क पनि बढी हुन्छ। तसर्थ, कम्पनीमार्फत् घर लिँदा धेरै कुरामा सहज हुन्छ। अर्को महत्त्वपूर्ण कुरा रिसेल भ्यालु पनि हो, आफैंले बनाएको घरको रिसेल भ्यालु हँुदैन। आज तपाईंले बनाउनुभएको घरको छेउमा जग्गा खाली छ, पछि त्यहाँ ५ तल्लाको घर बन्यो भने तपाईंको घरमा घामै पनि नआउनुसक्छ तर डेभलपर्सले बाटो, पानी, ढल, बिजुलीलगायतका सबै कुरा मिलाएको हुन्छ।

सबै कुरा मिलेको घरलाई आममानिसले अफोर्ट गर्न सक्छन् त ?

कसले किन्न सक्छ सक्दैन भन्ने कुरा यकिन गर्न सकिँदैन, आज किन्न नसक्नेले भोलि किन्न सक्छन्, आज सक्नेले भोलि नसक्न पनि सक्छन्, अहिले चक्रपथ विस्तारको कुरामा नै हेर्नुहोस् न हिजोसम्म केही पनि नभएको जग्गा ५० हजारमा नबिक्ने जग्गा अहिले एकैचोटी ६ लाख रुपियाँ पुग्यो, कुनै परिवारका सदस्य विदेश गए कमाउने भए्, श्रीमान श्रीमती नै रोजगारीमा लागे भने आज किन्न सक्दैन भन्नेहरू किन्न सक्ने हुन्छन्, यहाँ सबै थरीका मानिस छन् त्यसैले अफोर्ट गर्न सक्छन्।

यस क्षेत्रमा निर्माण सामग्रीको उपलब्धताको अवस्था के छ ?

निर्माण सामग्रीको त जहिल्यै पनि अभाव छ, कहिल्यै ढुंगा छैन, कहिले गिट्टी छैन, कहिले सरकारले गिट्टी बालुवाको उद्योग बन्द गर्दिन्छ, यसरी नै चलेको छ, हामीले अभावलाई व्यवस्थापन गर्दै आएका छौं।

हामी आफैं दिनरात काममा खटियौं, हामीले गरेको मेहनत मान्छेले देखेका छन्, बुझेका छन्। हामीले सफलता प्राप्त गर्नुमा हाम्रो मुख्य स्ट्रेन्थ भनेको प्रोजेक्ट सेलेक्सन नै हो।

यहाँले अघि हस्पिटालिटीमा लगानीको कुरा गर्नुभयो, कुन ठाउँमा कस्तो तयारी छ ?

हामी होटल, बैंक्वेट हल खोल्ने तयारीमा छौं। अहिले हामी भैरहवा र लुम्बिनीको बीचमा जग्गा किन्ने तयारीमा छौं। हामी प्रोडक्ट डिजाइन गर्छौ, लगानीकर्तालाई बोलाउँछौं र बैंकको सहयोगले प्रोजेक्ट अघि बढ्छ। त्यहाँ तीनवटा जति स्टार होटेल हुन्छ, रेस्टुरेन्ट हुन्छ, बैंक्वेट हल हुन्छ। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरिएको छ। लुम्बिनीमा थुप्रै पर्यटक आउछन् तर सबै धार्मिक तवरले नआएको पनि हुन सक्छन्, उनीहरू घुम्न कहाँ जाने त, दिनभर घुमेर राम्रो ठाउँको खोजीमा कहाँ जाने, दुई तीन दिन बस्नलाई मनोरञ्जनका हिसाबले बस्न मिल्ने ठाउँ त्यहाँ कम छन्, त्यसैले त्यो क्ष्ँेत्र हाम्रो रोजाइमा परेको हो। त्यहाँ हामीले ढावादेखि लिएर स्टल होटलसम्मका सबै किसिमका सुविधा दिने विचार गरेका छौं।

तपाईले अस्पतालको पनि कुरा गर्नुभयो, ग्रान्डी हस्पिटल अलि हुनेखानेप्रति लक्षित भयो भन्ने कुरा छ, ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरी अस्पताल खोल्ने पनि केही योजना छन् कि ?

ग्रान्डी हस्पिटल हुनेखानेप्रति लक्षित भयो भन्ने त्यो सोचमात्रै हो। भवन ठूलो देख्दैमा त्यस्तो हुने होइन। कति स्लाइडको एमआरआई गराउने हो त्योअनुसार पैसा तिर्ने हो। ठूलो स्केलको भएको हुनाले अलि मूल्य बढी हुन सक्ला, कसैलाई धेरैथरिका सुविधा चाहिन्छ भने पैसा त अवश्य नै लाग्छ। अरु ठाउँको तुलना गर्दा त्यति धेरै होइन, यो हाम्रो पाइलट प्रोजेक्टजस्तै हो, त्यो सफल भयो भने अरु कुरा सोच्न सकिन्छ। भविष्यमा बाहिर तिर जाने सोच पनि छ तर अहिले नै प्रतिबद्धता जनाउन सक्ने अवस्था भने छैन। अरु मान्छे पैसा कमाएपछि सामाजिक काम गर्दछन् तर हामी पैसा नकमाउँदै पनि त्यस्तो काम गरिराख्छौं।

तीन लाख रुपियाँबाट शुरू भएको कम्पनीको अहिले टर्नओभर कति होला ?

हाम्रो दुई थरी हुन्छ, जसमध्ये प्रोजेक्ट इन हेन्ड १२ अर्ब रुपियाँभन्दा बढीको होला। टनओर्भर भने करिब २ अर्ब रुपियाँको होला।

नयाँ आउने उद्यमीलाई यहाँको सुझाव के छ ?

सबैभन्दा पहिला त आफू एक्लै खाउँ एक्लै कमाउ भन्ने सोच राख्नु हुँदैन, साथै नेपालमा काम गर्न धेरै गाह्रो छ तर जति अवसर पनि यहाँ जति अन्यत्र कतै छैन। नेपालमा ग्रोथ गर्न सक्ने ठाउँ प्रशस्तै छन्। केही चुनौती पनि छन् तर त्यसमा नआत्तिकन तन मन लगाएर काम गर्यौं भन्ने सफल हुन सकिन्छ। नयाँ उद्यमीलाई हामीले पाएको दुःख नपाउन् भनेर हामीसँग सल्लाह लिन सक्नुहुन्छ, हामी फ्रि काउन्सिलिङ पनि गर्छौं।

प्रतिक्रिया दिनुहोस्