लुटेराको नयाँ रणनीति – रक्सीले स्वागत, बिस्कुटले अन्त्य



कुमार श्रेष्ठ, बाँके
ल्टी घरमै बनाएको पियोर रक्सी हो, अलिकति लिने हो ?’ –नजिकै सिटमा बसेका व्यक्तिले बर्दियाका सूर्य विकलाई आग्रह गरे। भारतको दिल्लीबाट कमाइ गरेर फर्किएका विकका दाजुभाइले ती व्यक्तिलाई भने– ‘हाम्रो घरमै छ, यस्तो पियोर रक्सी हामी खाँदैनौं।’

विक भन्नुहुन्छ– ‘खान्नभन्दा पनि उसले पटक–पटक अलिकति चाख्न आग्रह गरिरह्यो। हामीले इन्कार गरिरह्यौं। बर्दियाको बलैगाउँ नाकामा झरेका विक दाजुभाइले रक्सी खान इन्कार गरेकाले नै कमाइ घरसम्म पुर्याउन सफल भए। करिब दुई दशकदेखि भारतको दिल्लीस्थित बोत्तल कारखानामा काम गरिरहेका विक दाजुभाइ सचेत रहेकाले बाटोमा अपरिचित व्यक्तिले दिएको खानेकुरा खाएनन्। सूर्यले भन्नुभयो– ‘यात्राका क्रममा नचिनेको मान्छेले दिएको खानेकुरा खाने हो भने पैसा घरसम्म आउँदैन।’ उहाँका अनुसार, छिमेकी जिल्ला घर बताएर रक्सी, कोक, पानी, बिस्कुट, चकलेट खुवाउन मरिहत्ते गर्नेहरू नेपाली नै हुन्छन्। उनीहरूको चिल्ला कुराको विश्वासमा पर्नुहुँदैन।

जाजरकोटका वीरे खड्का, प्रेम थापा, पारस थापा र शेरबहादुर थापालाई पनि सल्यान र नेपालगन्ज घर बताउने दुई युवाले शुरुआतमा रक्सी खुवाएका थिए। आफूले पनि खाने र उनीहरूलाई खुवाउने गर्दागर्दै मन जित्न सफल भए। पछि विषादि मिसाएको बिस्कुट खुवाएर बेहोस् बनाई उनीहरूको पैसा लुटे। ‘बिस्कुट त तीन चरण खुवाए’, वीरेले भन्नुभयो– ‘अन्तिममा रहलपहल धूलो पनि सोरसार पारेर खुवाएका थिए।’

रक्सीको दोस्ती घनिष्ट हुन्छ भन्ने नेपालीमा भनाइ छ। यही बुझेर होला, भारतको बस यात्रामा पनि लुटेराले रक्सीको स्वागतबाटै मन जित्ने प्रयास गर्छन्। घरमै बनाएको पियोर भनेर रक्सी देखाइदिएपछि नेपालीहरू मख्ख हुने र पायक पर्दा लुटेराले अरू खानेकुरामा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको पाइएको छ।

भारतमा मदिरामा कडाई छ। त्यसका बावजुद बसभित्र कसरी रक्सी आइपुग्छ। अधिकारीहरू भन्छन्– ‘साना बोत्तलमा लुकाएर राख्छन्।’ रक्सी भनेपछि भुतुक्क हुने नेपालीलाई त्यहीले स्वागत गरेर लुटेराले एक प्रकारको गुन नै लगाएका हुन्छन्। अलिअलि रक्सी र त्यससँगै अन्य खानेकुरा खाँदा मजदुरी गरेर कमाएको पैसा बीचमा लुटाउँछन्, नेपालीहरू। क्षणिकको लोभले गर्दा उसले आफ्नो मात्रै होइन, परिवारकै खुसी लुटाउँछ।

कोक, पानी, बिस्कुट खुवाउदा शुरुमै शंका हुने भएकाले लुटेराले पछिल्ला दिनमा रक्सीबाट शुरुआत गर्न थालेका छन्। अलिकति रक्सी खाएपछि ‘डन’ नै बन्ने नेपालीको बानीलाई लुटेराले राम्ररी बुझेको बताइन्छ। रक्सी खाएपछि उसले कति पैसा कमाएको र कहाँ राखेकोसम्म भन्न भ्याउँछ। जुन कुरा लुटेराले चाहेको हुन्छ। जाजरकोटको वीरे खड्काको हकमा भने लुटेरा झुक्किएका थिए। रक्सी र बिस्कुट खाएर बेहोस् भए पनि वीरेको कम्मरमा कसेर बाँधेको ३२ हजर भारु बचेको थियो। जुन पैसाले वीरेलाई होसमा आउँदा खुसी बनायो।

भारतमा बाह्रैमास काम गर्न जानेहरू पनि विश्वासमा परेर लुटिएको भेटिएका छन्। छिटो विश्वासमा पर्ने नेपालीको बानीले गर्दा दुःख पाउने गर्छन्। नेपाली लुट्नेहरू प्रायः नेपाली नै हुने भएकाले अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानु नै जोगिने अन्तिम उपाय भएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्