निर्वाचनका लागि सबै तयारी पूरा



धनवीर दाहाल, रुकुम
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुमका पहिलो चरणमा निर्वाचन हुने ६ स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। जिल्ला निर्वाचन कार्यालय रुकुमका अनुसार १ सय ७ मतदान केन्द्रमा कर्मचारी, निर्वाचन सामाग्री र सुरक्षाकर्मी पुगिसकेका छन्।

मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, त्रिबेणी गाँउपालिका र सानीभेरी गाउँपालिका गरी ६ स्थानीय तहको वैसाख ३१ गते निर्वाचन हुँदै छ। मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले १ सय ७ मतदान केन्द्रका लागि ६ सय ४२ कर्मचारी पठाइसकिएको जानकारी दिनुभयो।

निर्वाचन आचार संहिता केही राजनीतिक दलले उल्लंघन गरिरहेका उजुरी आएकाले अनुगमनका लागि अनुगमन टोली खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आचार संहिता उल्लंघन भएको पाइएमा कानुनबमोजिम कारबाही हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो। निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक अंगुर जीसीले केन्द्रीय सुरक्षा समिति तथा जिल्ला सुरक्षा समितिले पास गरेभन्दा थप २ सय प्रहरी रुकुममा भित्त्याइएको जानकारी दिनुभयो।

जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुद बनाइएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको भनाइ छ। हालसम्म सानातिना झडपबाहेक कुनै अप्रिय घटना नघटेको र सबै दलहरूलाई ध्यानार्कषण गराइएको उहाँले जानकारी दिनुभयो। शान्ति सुरक्षामा खलबल पुर्याउने काम भए तत्कालै स्थानीय प्रशासन एक्सनमा आउने प्रजिअको भनाइ छ।

स्थानीय प्रशासनले आम मतदातालाई सुरक्षाको अनुभूति दिलाउने उहाँले बताउनुभयो। स्थानीय तह निर्वाचनका लागि रुकुमका ९ स्थानीय तहमा जम्मा १ लाख १ हजार ९ सय ३२ जना मतदाता रहेका रहेका छन्। जिल्ला निर्वाचन कार्यालय रुकुमका अनुसार ५१ हजार १ सय ५३ महिला र ५० हजार ७ सय ७८ पुरुष छन्। त्यसमध्ये वैसाख ३१ मा हुने पहिलो चरणको निर्वाचनमा ६ स्थानीय तहमा ७७ हजार ४ सय ५१ मतदाता छन्। रुकुममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, नेपाल परिवार दल र स्वतन्त्रबाट गरी १ हजार १ सय ८७ उम्मेदवार चुनावी मैदानमा छन्।

दलहरूले चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ। मुख्य प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गाउँ–गाउँमा पुगेर घरदैलो कार्यक्रम तथा भेटघाट एवं खुला सभा गरेर आ–आफ्नो पक्षमा मत मागिरहेका छन्। रुकुमको बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेलसमेत भएको छ। नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार जनककुमार बाँठालाई एमालेले सघाउने र नेकपा एमालेका बिउझना पुनलाई नेपाली कांग्रेसले सघाउने सहमति भएपछि सो स्थानीय तहमा संयुक्त चुनावी कार्यक्रमहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्