भिट्टामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य



लक्ष्मीकुमार साह, महोत्तरी
महोत्तरी जिल्लामा पर्ने भिठामोड–जलेश्वर–जनकपुर सडक मंगलबार एका बिहानैदेखि परेको वर्षाले हिलाम्य भएको छ।

मंगलबार बिहानैदेखि परेको वर्षाका कारण जिल्लाका भिट्टामोड–जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानीलगायतका सडक हिलाम्य भएका हुन्। लामो समयदेखि धुलाम्य अवस्थामा रहेको भिठामोड–जलेश्वर–जनकपुर सडक यति बेला हिलाम्य भएको छ। सडक निर्माण गर्ने ठेक्का पाएका ठेकेदारहरूले सुस्त गतिमा कामलाई अघि बढाउँदा अहिले उक्त सडक हिलाम्य भएकाले सडकमा आवत–जावत गर्ने यात्रुले पहिले भन्दा बढी समस्या खेप्नुपरिहेको छ।

भिट्टामोड–जलेश्वर–जनकपुर सडकमा यात्रा गर्ने पैदल तथा सवारीसाधन प्रयोग गरी यात्रा गर्ने यात्रुले घाम लाग्दा धूलो र पानी पर्दा हिलोको सामना गर्नुपर्ने बाध्यता रहेको तथा सडक दुर्घटनासमेत पर्नसक्ने स्थानीय जलेश्वर निवासी गजेन्द्र गुप्ताको बुझाइ छ।

मंगलबार एक्कासि भारी वर्षाले भिट्टामोड–जलेश्वर–जनकपुर सडक, जलेश्वर–मटिहानी सडकलगायतमा पानी जमेको छ। पानी जमेपछि सो सडकमा चल्ने सवारीसाधन, पैदल यात्रीलाई निकै समस्या परेको छ भने कतै–कतै त बृहत् मात्रामा पानी जमेकाले सवारीसाधन चल्नै नसक्ने अवस्थासमेत रहेको स्थानीय रञ्जित राउतले बताए। वर्षाका कारण हिलो र पानी जमेर सडकमा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउन नसकिने अवस्था छ।

यहाँका व्यस्त सडकमा ओहोर–दोहोर गरिरहने गाडीले छ्यापेको हिलोले बाटो हिँड्नै नसक्ने भएको छ। पसलअगाडिको सडकमा जमेको पानी र हिलोले आफूहरूको व्यापार चौपट बनाएको पिपराका व्यापारीहरू बताउँछन्।

अलिकति वर्षा भएको अवस्थामा भिट्टामोड–जलेश्वर–जनकपुर सडक नै हिलाम्मे भएको अवस्था देख्दा वर्षायाम शुरु भएपछि कस्तो स्थिति सिर्जना होला भनी अहिलेदेखि नै जलेश्वर–जनकपुरबासी चिन्तित रहेका छन्। वर्षायामअघि नै जे गरेर भए पनि हिलो र सडकमा जम्ने पानीबाट सिर्जित समस्याको समाधान खोज्न सम्बन्धित निकायसँग उनीहरू माग गरेका छन्।
सडकमा यत्रतत्र भएको खाल्डाखुल्डी र जमेको पानीले दुर्घटनाको जोखिम बढेको छ। यहाँको व्यस्त सडकमा गाडीको चाप अत्यधिक रहेको र वर्षापछि हिलामे हुँदा मानिस, साइकल, रिक्सा, मोटरसाइकललगायत सबै बीच सडकमा नै हिँड्ने गरेकाले दुर्घटनाको जोखिम उत्तिकै बढेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीका पोषराज पाण्डेले बताए।

वर्षाका कारण सडक पटक–पटक अवरुद्ध हुने गरेकाले पानी परेका दिन जिल्लाका कुनै पनि सडकमा बस नचलाउन जनकपुर अञ्चल बस व्यवसायी संघले यसअघि नै पत्राचार गरिसकेको छ। जिल्लाभित्र एकमात्र पक्की बाटो जलेश्वर–बर्दिबास भने सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्