नमोबुद्ध जस्तै शान्त र सम्बृद्ध नगर बनाउँछु



टीपी शर्मा तिमल्सिना
मेयरका उम्मेदवार
नमोबुद्ध नगरपालिका

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय व्यक्ति टीपी शर्मा तिमिल्सिना पहिलो पोल्ट्रिसम्बन्धी पत्रिका निकाल्ने अग्रज पत्रकारसमेत हुनुहुन्छ। सामाजिक अभियानमा निरन्तर कृयाशील शर्मालाई नेकपा एमालेले नमोबुद्ध नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको छ। निर्वाचनको सन्दर्भमा शर्मासंग गरिएको कुराकानीको सार संक्षेपः

तपाईंको उम्मेदवारी के का लागि ?

गाविसबाट नगरपालिकाको आकार ग्रहण गरिनसक्दै पुनः भएको संरचनाले थप केही गाविसहरु नमोबुद्ध नगरपालिकामा समावेश भएका छन्। सबै गाविसहरु मिलेर बनेको नगरपालिकाका थुप्रै ग्रामीण बस्तीहरुमा अनेकखालका विकासका संरचनाहरुको निर्माण आवश्यक छ। सडक, विद्यालय, स्वास्थ्य, खानेपानी, शौचालय, सरसर्फा, विद्युत् जस्ता अत्यावश्यक पूर्वाधार निर्माणमा पहिलो प्राथमिकता हुनेछ।नगरका सबै वडाहरुलाई सडक सञ्जालमार्फत जोड्दै नगरबासीहरुलाई आयआर्जनका हिसाबले सम्वृद्धि बनाउन नमोबुद्ध र कानपुरलगायतका क्षेत्रमा पर्यटकहरु भित्र्याउँदै नगरलाई नमोबुद्धजस्तै शान्त र सम्वृद्ध नगरका रूपमा विकास गर्नेछु।

नगरबासीहरुका आवश्यकताहरु के के छन् ?

नगरभित्र थुप्रै आवश्यकता छन्। भूकम्पले थिलथिलो पारेको समाजलाई पहिलाकै लयमा फर्काउन तत्काल पुनर्निर्माणको काम व्यवस्थित ढंगबाट शुरु गरिनेछ। पुनर्निर्माणमा छुटेका परिवारलाई तत्काल अनुदान उपलब्ध गराउन पहल गर्नेछु। प्राविधिक विद्यालय, अन्तर्राष्ट्रिय स्तरको बौद्ध विश्वविद्यालय, एक सय शैयाको सामुदायिक अस्पताल, नगरका सबै नागरिकहरुलाई सर्वसुलभ खानेपानी र सरसफाइ, पाँच वर्षभित्र एक घर एक धारा, कृषि उत्पादन बृद्धिका लागि सिंचाइको व्यवस्था, सबै वडाहरुमा सडक सञ्जाल, प्रत्येक वडामा पुस्तकालय व्यवस्था, कालोपत्रे सडक, एकीकृत बस्ती स्थापना, पहिलो बालमैत्री तथा बालश्रम मुक्त नगर घोषणा गर्ने लगायतका कामहरु हुनेछन्।

तपार्इंको प्रतिस्पर्धा कुन पार्टीेसँग हुँदै छ ?

नमोबुद्ध नगरपालिकामा प्रमुख तीन दल र अन्य केही साना दलहरु पनि प्रतिस्पर्धामा छन्। विशेष गरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मेरा प्रमुख प्रतिस्पर्धी दलहरु हुन्। सबै दलहरु आफ्नै चुनावी प्रचारमा छन्। मलाई विश्वास छ अन्य उम्मेदवाहरुभन्दा नगरको विकासका लागि म अनुभवी छु। शालीन छु। बुद्धको जस्तै शान्त स्वभावको छु। नगरबासीहरुले मलाई त्यही कारण पनि मतदान गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्