दक्षिण ललितपुरमा ५३ मानसिक रोगी



सुरेश तामाङ, ललितपुर
ललितपुरको दक्षिणी भेगमा ५३ जना मानसिक रोगी भेटिएका छन्। कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनका ललितपुर जिल्ला संयोजक तथा मनोसामाजिक विमर्शकर्ता संदिप बस्नेतले ५३ रोगी भेटिएको बताउनुभयो।

जिल्ला संयोजक बस्नेतका अनुसार ललितपुरका लेले, छम्पी, नल्लु, भारदेउ र चौघरेमा सो संख्याको बिमारी पहिचान भई हाल उपचार भइरहेको छ। संगठनले ती स्थानहरूमा कडा र सामान्य खालका मानसिक बिरामीहरू भेटिएको र धेरैजसो छारे रोगी भेटिएको मनोविमर्शकर्ता बस्नेतले बताउनुभयो।

रोगीहरूमा धेरैजसो महिला छन्। संगठनको तथ्यांकअनुसार जम्मा ५३ जना रोगीमध्ये २३ जना महिला मात्रै छन् भने पुरुष १८ जना छन्। त्यस्तै ८ जना १३ वर्षदेखि १८ वर्ष सम्मका बालकहरू छन् भने ४ जना बालिका छन्।

संगठनले हाल लेले प्राथमिक स्वास्थ्य केन्द्रसँग सहकार्य गरेर महिनाको चौँथो बुधबार मनोरोगका विशेषज्ञद्धारा जाँच गर्ने गर्दछ। प्रत्येक बिमारीलाई त्यही दिन फलोअपका लागि बोलाउने, औषधि थप्ने र जाँच गरिने मनोविमर्शकर्ता बस्नेतले बताउनुभयो।

संगठनले रोगीहरूलाई शुरुमा मनोसामाजिक परामर्श दिने, थेरापीहरू गर्ने, औषधि दिने र धेरै कडा खालको बिमारीलाई कोशिसकै सेल्टरमा राखेर औषधि उपचार गरेर निको पारेर घर फर्काउने र निरन्तर फलोअपका लागि बोलाउने गरेको मनोविमर्शकता बस्नेतले सुनाउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले यहाँ एकदमै सिरियस केश ४ जनाको भेटायौँ, उनीहरूलाई हामीले सेल्टरमा राखेर उपचारपछि घर फर्कायौँ अहिले उहाँहरू पूर्ण रुपमा स्वस्थ्य त हुनुभएको छैन तर सुधार भएको छ। उहाँहरू हाम्रो निगरानीमा हुनुहुन्छ र फलोअप पनि भइरहेको छ।’

कोशिसले गरेको यस अभियानले ३ जना बिरामी पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेका छन्। सामान्यतयाः सामान्य खालका मानसिक रोगहरू मनोसामाजिक परामर्श लिएर, सामान्य औषधि र उपचारपछि पूर्णरुपमा स्वस्थ हुन १ देखि ६ महिना लाग्न सक्छ भने कडा खालको मानसिक रोग निको हुन निरन्तर औषधि उपचार गरेमा ६ महिनादेखि ३ वर्षसम्म लाग्न सक्ने विशेषज्ञहरूले बताएका छन्।

कोशिसले ललितपुरको दुर्गम बस्तीहरूमा पनि यस्ता खालका रोगीहरू खोजी गरी रहेको जनाएको छ। कोशिसले मानसिक रोगीको पहिचानका लागि महिला स्वयंसेवीकाहरूलाई तालिम र प्राथमिक स्वास्थ्य केन्द्र र चौकीका स्वास्थ्य कार्यकर्ताका लागि कस्ता रोगीलाई कसरी परामर्श दिने, कस्ता रोगीलाई कस्तो औषधि कतिको मात्रामा दिने भनेर तालिम पनि दिइरहेको जनायो। त्यस्तै कोशिसले विभिन्न विद्यालयहरूमा पुगेर मानसिक रोगसम्बन्धि विविध सामाग्रीको प्रयोग गर्दै जनचेतनासमेत बाँडिरहेको छ।

प्रतिक्रिया दिनुहोस्