युवती हत्यामा संलग्न पक्राउ



काठमाडौं, (नेस)
युवतीको हत्यामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–५ बस्ने ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरपालिका–३२ कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसको कोठानम्बर ३ सय ४ मा वैशाख २३ गते काभ्रे, महांकालचौर–८ बस्ने २८ वर्षीया लक्ष्मी तामाङ र निज तिमल्सिनाले नाम, ठेगाना र फोन नम्बरसमेत परिवर्तन गरी विष्णु सापकोटा ठेगाना चितवन भनी सँगै बसेको र भोलिपल्ट बिहान हत्या भएको अवस्थामा लक्ष्मीको शव फेला परेको थियो।

मृतक लक्ष्मीसँग तिमल्सिनाको करिब १८ महिना पहिलादेखि फोनमार्फत् कुराकानी भई चिनजान भएको र उक्त दिन आर्थिक कारोबारको विषयलाई लिई भएको वादविवादमा सलको पासो घाँटी कसी कर्तव्य गरी मारेर बेडमा नै सिरकले छोपी मृतकको साथमा रहेको सुनको सिक्री १ थान, नेक्लेस १ थान, बेरुवा औंठी १ थान, मुन्द्रा ८ थान, माछा आकारको कानमा लगाउने टप, नगद ५ सय र मृतकको मोबाइल २ थानसमेत लिएर ३ जनाका लागि खाना अर्डर गरी आफू एयरपोर्ट जान्छु भनेर हिँडेको खुल्न आएको छ।

अभियुक्तबाट मृतकको मोबाइल १ थान, नगद ९५ हजार रुपियाँ र सुनको जस्तो देखिने मृतकको तिलहरी १ थानसमेत प्रहरीले बरामद गरेको छ। अभियुक्त तिमल्सिनालाई उक्त महाशाखाले थप कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्