‘जनताको सेवामा नेता’



ललितपुर, (नेस)
जनता नेताको सेवामा होइन, जनताको सेवामा नेता भन्ने मूल नारा अघि सार्दै चुनावी प्रचारमा जुटेका ललितपुर महानगरपालिका वडा नम्बर ३ का एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार श्रीगोपाल महर्जनले आफूले घोषणा गरेको प्रतिबद्धताअनुसार काम गर्दै जाने बताउनुभयो। अघिल्लो स्थानीय निकायको निर्वाचनमा सोही वडाबाट विजय हासिल गरिसक्नुभएका महर्जन सो क्षेत्रको समाजसेवीको रूपमा चिनिनुहन्छ। उहाँले आफूले विजय हासिल गरेको केही दिनमै वडा कार्यालय भवन बनाउने उद्घोष गर्नुभएको छ।

वडामा रहेका सबै घरधनीलाई वैज्ञानिक घर नम्बर वितरण गर्ने र सबै घरको तथ्यांक सार्वजनिक गर्ने, युवा रोजगार सिर्जना गर्ने, वडामा रहेका वृद्धवृद्धालाई विशेष सम्मानसहितको कार्यक्रम घोषणा गरिने, वडास्तरबाटै फोहोर संकलन गर्ने, वडामा हरियाली कायम गर्ने, वडामा रहेका पार्क व्यवस्थापन गर्ने प्रशासनिक पारदर्शिता कायम गराउने, वैज्ञानिकरूपमा वडाका काम कारबाही अघि बढाउने, मूर्त र अमूर्त कला संस्कृति र सम्पदाहरूको संरक्षण र विकास गर्ने, खानेपानी, बाटो, ढलको सुविधा सबै घरमा पुर्याउनेलगायतका प्रतिबद्धता घोषणा गर्नुभएको छ। ४ हजार ४ सय ३१ मतदाता रहेको सो वडालाई महानगर क्षेत्रको नमुनाको वडा बनाउने योजना रहेको अध्यक्षका उम्मेदवार महर्जनले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्