माहोल तताउँदै महर्जन



प्रमुख राजनीतिक दलहरुको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारको चर्चासँगै एक उम्मेदवारले चुनावी माहोल निकै तताएको पाइएको छ। ती उम्मेदवार रमेश महर्जन हुन्। महानगरपालिकाको सारा जनतालाई मनमा कैद गर्न भन्दै सांकेतिकरूपमा क्यामरा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका महर्जनको पनि चुनावी चर्चा परिचर्चा निकै छाएको छ।

कृषक परिवारमा जन्मिएका रत्न आभूषणका व्यवसायमा लागेका ५३ वर्षीय महर्जन नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष हुनुहुन्छ। नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यसमेत रहेका महर्जन चुनावी माहोल तताउन खप्पिस पाइनुभएको छ। शनिबार कार्यविनायकबाट घरदैलो अभियान शुरु गरेका महर्जनले भैंसेपाटी, पाटनढोका, नागबहाललगायत अधिकांश क्षेत्रमा घरदैलो अभियान भ्याइसक्नुभएको छ।

रवीन्द्र मिश्रलाई सारथी बनाई चुनावी मैदानमा अभियानमा उत्रिएको उहाँको अभियानलाई जनताको साथ कस्तो छ भन्ने कुरा वैशाख ३१ जनताले हाल्ने मतबाट मात्रै जाहेर हुनेछ। अध्यात्म र समाजसेवाप्रति झुकाव राख्ने महर्जनले वि.सं. २०७२ को महाभूकम्पपछि पाटनको पिलाछेंमा पर्यटन र संस्कृतिको केन्द्र बनाउने अठोट गरेर स्थानीयबासीको सहभागितामा झण्डै १ सय भवन परम्परागत नेवाः वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गर्नुभएको थियो।

महर्जनले नामसंगति पाठ गर्ने परम्परा पुनःजीवित गर्न योगदान दिनुभएको छ। आफ्नी आमाको नाउँमा परोपकारी संस्था माया फाउन्डेसन स्थापना गरेका महर्जन लुम्बिनी विश्वविद्यालय तथा अपांग सेवा संघ, खोकनासँग पनि आबद्ध हुनुहुन्छ। पिलाछेंको पुनर्निर्माण गर्ने क्रममा रवीन्द्र मिश्रसँग बराबर छलफल गरेको परिणतिस्वरूप आफूले मेयरमा उम्मेदवार दिएको महर्जनको कथन छ।

उहाँले आफू जित्नका लागि उपमेयरका उम्मेदवार शोभा शाक्यसँग मिलेर ललितपुर विकासका समग्र योजनाहरु पनि अघि सार्नुभएको छ। ललितपुरको ऐतिहासिक धरोहरको विश्वव्यापी प्रचारप्रसारबाट पर्यटन क्षेत्रमा समग्र ललितपुरले आर्थिक लाभ लिन सकिने उहाँको विश्वास रहेको छ। ‘ललितपुरलाई सम्पदा शहरको रूपमा विकास गरी ललितपुरबासको आर्थिक, सामाजिक र समृद्धिको दिगो आधा निर्माण गर्दछौं’ –उहाँले भन्नुभयो।

उनको घोषणापत्रमा पुनर्निर्माणलाई विशेष जोड दिइएको छ। विनाशकारी भूकम्पबाट पीडितहरुको समस्याको न्यायोचित किसिमले सम्बोधन एवं व्यवस्थापन हुनु जरुरी रहेको उल्लेख गरिएको छ। ‘आफूले जितेमा महानगरपालिकाबाट यो कामको अविलम्ब व्यवस्थापनका कार्यहरु सञ्चालन गर्दछु’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्