“चुनाव जित्ने निश्चित भइसक्यो”



रामेश्वर श्रेष्ठ एमालेका तर्फबाट उम्मेदवार, महालक्ष्मी नगरपालिका, ललितपुर

ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठले आफ्नो नगरलाई विकसित गर्न विभिन्न एजेन्डा रहेको बताउनुभएको छ। नेपाल समाचारपत्रका लागि सुनील महर्जनले उहाँसँग गरेको कुराकानी :

तपाईंको उम्मेदवारी किन होला ?

महालक्ष्मी नगरपालिकालाई समृद्ध र सुखी बनाउन मैले उम्मेदवारी दिएको हुँ। यहाँको परम्परागत बस्तीको संरक्षणसँगै नगरकोे भौतिक पूर्वाधार निर्माणका लागि मैले उम्मेदवारी दिएको हुँ। नगरोन्मुख यहाँका क्षेत्रहरुमा परम्परागत बस्ती, संस्कृतिको संरक्षणसँगै आधुनिक र व्यवस्थित शहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ। यी वस्तुगत आवश्यकता परिपूर्ति गर्न मैले उम्मेदवारी दिएको हुँ। समग्रमा नयाँ पुस्ताको उत्थान, समृद्धि र विकासका लागि मेरो उम्मेदवारी हो।
तपाईंले चुनाव जित्ने आधारहरु के–के हुन् ?

मैले अघि सारेका चुनावी एजेन्डाहरु, मेरो राजनीतिक र सामाजिक योगदान र आम मतदाताहरुको सहयोग र समर्थन नै मेरो जित्ने आधार हुन्। यसमा पार्टीका आम कार्यकता र शुभेच्छुकहरुको साथ र सहयोगले म निकै उत्साही छु।
तपाईंको चुनावी एजेन्डा के–के हुन्।

मैले विषयगतरूपमा थुप्रै एजेन्डाहरु उठाएको छु। जस्तै सडक, ऊर्जा, शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य, सुशासन÷पारदर्शिता, सञ्चार, धार्मिक÷सम्पदा संरक्षण, युवा तथा खेलकुद, महिला, बालबालिका र ज्येष्ठ नागरिक, कृषि, अपाङ्गता, खानेपानी, यातायात, पर्यटन, भूकम्पपछिको पुनर्निर्माणलगायत रहेका छन्।
तपार्इंले कस्तो नगरपालिका बनाउने वा बनेको देख्न चाहनुहुन्छ ?

नगर क्षेत्रलाई सुन्दर, सफा, हराभरा बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर मुख्य सडकहरुलाई दुई वर्षभित्र कालोपत्रे गर्नेछौं। सबै सडकहरुलाई कालोपत्रे गरी धूलोमुक्त, सफा, दायाँबायाँ ‘ग्रिन क्लिन’ नगरको रूपमा विकास गर्नेछौं। कमसल सडक निर्माण गर्ने र ढल, पानीका नाममा पटक–पटक भत्काउने तथा बेथिति महालक्ष्मी नगरपालिकाबाटै अन्त्य गर्नेछौं।

महालक्ष्मी नगरपालिकामा शौर्य ऊर्जाको प्रयोगमा प्रोत्साहन दिने नीति ल्याउनेछौं। सडकबत्ती तथा सार्वजनिक क्षेत्रमा शौर्य ऊर्जाको प्रयोग गरिनेछ। निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न नगरपालिकाको बजेटबाटै उल्लखनीय शिक्षामा लगानी गर्ने व्यवस्था गरिनेछ। आगामी ३ महिनाभित्र गुरूयोजना निर्माण गर्दै आगामी २ वर्षभित्र अत्याधुनिक एवं सुविधासम्पन्न नगरपालिका भवन, सबै वडा कार्यालयका भवन, अस्पताल, सामुदायिक सेवा भवन र आवश्यक सुरक्षा चौकीहरू निर्माण गर्ने योजना छ।

नगरमा विद्युत्, टेलिफोनका तार, ग्यासका पाइप, खानेपानीका पाइपलगायत सबै भूमिगत राखिने छन्। त्यसै गरी नगर क्षेत्रका सबै वडामा ढलको समुचित व्यवस्था गरिनेछ। सबै जनताको स्वास्थ्य सुविधा पाउने गरी साविक गाविसहरु केन्द्रित भएर (इमाडोल, टीकाथली, सानोगाउँ, लुभु र लामाटार) २५ शैयाको अस्पताल निर्माण गरिनेछ। स्वास्थ्य चौकीको स्तरोन्नति गरी एक सामुदायिक अस्पताल सञ्चालनका लागि पहल गरिनेछ।

जनगुनासो सुन्ने र प्राप्त जनगुनासो एक हप्ताभित्र व्यवस्थापन गर्ने पद्धति स्थापित गरिनेछ। भूकम्पपछिको पुनर्निर्माणः आवास अनुदान प्राप्तिका लागि लाभग्राहीको सूचीमा छुटेका पीडित परिवारलाई अनुदान दिई भूकम्पमा भत्किएका साँस्कृतिक सम्पदा र मठ–मन्दिरहरुको पुनर्निर्माण गरिनेछ। नगरभित्र एकीकृत नमुना बस्ती निर्माणको व्यवस्था मिलाइनेछ। यी एजेन्डाहरु नगरको आवश्यकता अनुरूप तय गरेका हौं।

धार्मिक सामाजिक एजेन्डा के–के हुन् ?

धार्मिक क्षेत्रको पहिचान गरी संरक्षण र सम्वद्र्धन गरिनेछ। सम्पदा संरक्षणमा स्थानीयलाई साझेदार बनाइनेछ। सबैको धर्म र आस्थाप्रति उच्च सम्मान गरिनेछ। नगरभित्र रहेका ऐतिहासिक पोखरीहरु संरक्षण गर्दै हरियालीयुक्त ग्रिन पार्कको निर्माण गरिनेछ। युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी दिनका लागि सीपमूलक एवं व्यवसायिक शिक्षा र तालिम कार्यक्रम सञ्चालन गरी स्वरोजगार दिइनेछ। साथै, व्यवसाय गर्न प्रोत्साहनका लागि छुट्टै कोष खडा गर्दै ऋण उपलब्ध गराइनेछ। युवाहरुलाई खेल क्षेत्रमा अगाडि बढाउन विशेष खेलकुद नीति ल्याइनेछ। राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका लागि खेलाडी उत्पादन गर्न वडा तहबाटै छनोट र तालिमको व्यवस्था मिलाइनेछ।

स्थानीय बाल क्लब, युवा क्लबहरु गठनका लागि प्रोत्साहन र सहुलियत प्रदान गरिनेछ। बजेटमार्फत् त्यस्ता क्लबलाई सहयोग गरिनेछ। सुविधा सम्पन्न युवा सूचना केन्द्रको स्थापना गरिनेछ।
महिलाहरुको नेतृत्व विकास तथा आर्थिक सबलीकरणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गरिनेछ। बालिकाको भ्रुण हत्या गर्ने प्रवृत्ति निरुत्साहित गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। ‘ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा, नगरपालिकाबाट भरोसा’ कार्यक्रम सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिकलाई कार्यविधि बनाएर सरकारले दिने भत्तामा ५ सय रुपियाँ थप गरिनेछ। ज्येष्ठ नागरिकका लागि छलफल, मनोरञ्जन, बसिबियालो गर्न योगाको सुविधासहित पार्क निर्माण गरिनेछ। नगरभित्र एक असहाय तथा अनाथालय स्थापना गरिनेछ।

तपाईंको पक्षमा चुनावी माहोल कस्तो पाउनुभएको छ ?

घरदैलो अभियानमा आम मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको छु। ती प्रतिक्रियाको आधारमा हेर्दा मैले चुनाव जित्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्