चुनावलाई मौसमको चुनौति



मौसमविद् भन्छन्– मतदानको दिन पानी पर्न सक्छ।

सन्तोष खनाल, काठमाडौं
हिजोआज मौसमले चुनौति दिइरहेको छ। साँझपख पानी परिरहेको छ। स्थानीय वायूसँगै न्यून चापीय क्षेत्र विकास भएको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएकाले मौसम बद्ली भई पानी परिरहेको हो।

प्रि–मनसुनको समय भएकाले ४ दिनपछि हुने स्थानीय तहको चुनावका दिन पनि पानी पर्न सक्ने अनुमान गरिएको छ। अहिलेको अवस्थालाई हेर्दा चुनावको दिन पानी पर्ने सम्भावना देखिएको हो।

अहिले ३ दिनको मात्र मौसमको भविष्यवाणी गरिने हुँदा चुनावमा पानी नै पर्ने भन्ने बारे अहिलेनै ठोकुवा गर्न नसकिने मौसमविद् सुवास रिमालले नेपाल समाचारपत्रलाई बताउनुभयो।

उहाँले प्रि–मौसम चलेकाले साँझपख भने पानी पर्न सक्ने बताउनुभयो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ रिमालले अहिलेसम्म अपरान्ह र साँझपख पानी परेकाले चुनावका दिन पनि पानी पर्न सक्ने बताउनुभयो। ‘बल्ल आज नौ तारिख भयो, १४ तारिखमा चुनाव छ त्यसकारण हामीले यकिनका साथ भन्न सक्ने अवस्थामा छैनौं’ उहाँले भन्नुभयो, ‘प्रि– मनसुन चलेकाले निर्वाचनको दिन पनि साँझपख पानी पर्न सक्छ।’

सोमबार रातिदेखि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ र पूर्वी तथा मध्य नेपालमा पानी परिरहेको छ। पूर्व र मध्यको तुलनामा पश्चिम नेपालमा कम पानी परेको छ।

पश्चिम नेपालको नजिक रहेको न्यून चापीय क्षेत्र, नेपालको मध्यभागबाट भारतको उडिसासम्म विकसित भएको अर्को न्यून चापीय क्षेत्र र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पूर्वी क्षेत्रबाट नेपालमा छिरेका कारण अहिले पानी परिरहेको बुझिएको छ।
अहिले नेपालमा प्रि–मनसुन सक्रिय छ। सामान्यता जुन १० तारिखबाट नेपालमा मनसुन शुरु हुन्छ। हाल केही जिल्लामा परिरहेको पानीले कतिपय जिल्लामा चुनाव प्रचारप्रसारको काम प्रभावित भएको छ।

यसरी हुन्छ मौसम अनुमान

५–७ वर्ष अघिसम्म मौसमविदहरूले परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्ने गरेका थिए। वेदर चार्ट एनालाइसिस अर्थात् नक्सामा पहिलेका डाटाहरू तथा उच्चचापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको हिसाब गर्नुपर्ने बाध्यता थियो।
तर अहिले मौसमविद्ले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गर्ने गरेका छन। कम्प्युटर भू–उपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गर्ने गरिएको छ। ‘स्याटेलाइट इमेजको प्रयोग भएको सात आठ वर्ष जति भयो, अनि दुई तीन वर्षदेखि एनडब्ल्यूपी अर्थात सिस्टम न्युमेरिकल वेदर पेडिक्सनको पनि प्रयोग हुन थालेको’ मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो।

यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसमको भविष्यवाणी गर्ने गरिएको छ। आधुनिक स्याटलाइट डिस्ट्रिब्युट सिस्टममार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतका रूपमा उपयोग गरिन्छ। भारत लगायत विभिन्न मुलुकहरूबाट गणितीय प्रविधिबाट प्राप्त हुने मौसम विवरण नेपालका लागि उपयोगी हुने गरेको छ।

यस्तो भविष्यवाणी गर्दा मुलुकलाई साधारणतयाः तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गर्ने गरिएको छ। साथै ती भेगमा देखा पर्न सक्ने मौसमी गतिविधिलाई समेत दृष्टिगत गरी मौसमको भविष्यवाणी गर्ने गरिएको छ।

यसरी भविष्यवाणी गर्दा मुलुकका विभिन्न ठाउँका साथै छिमेक र विश्वकै मौसम गतिविधिको जानकारी लिनुपर्ने विभागले जनाएको छ। मौसमविद् कँडेलका अनुसार देशका १६ ठाउँमा रहेका केन्द्रबाट हरेक तीन÷तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने गरिएको छ।
मौसमविदका अनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका विभिन्न स्ट्यान्डर्सका तथ्यांक लिएर मौसमी हरहिसाब गर्ने गरिएको छ। युरोपेली र चिनियाँ भू–उपग्रहबाट प्राप्त तस्वीर पनि हेर्ने गरिएको छ। आधुनिक प्रविधिको प्रयोगका कारण हिजोआज मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्