सारापोभा फेरि निरास



मेड्रिड, (एजेन्सी)
युजीनी बउचार्डले रसियन खेलाडी मारिया सारापोभाको मेड्रिड ओपनको यात्रा समाप्त पारेकी छन्। सोमबार भएको खेलमा क्यानडेली बउचार्डले सारापोभालाई तीन सेटमा हराएकी हुन्। उनले सो खेल ७–५, २–६, ६–४ ले जितेर तेस्रो चरणमा स्थानसमेत बनाइन्।

यो बउचार्डले सारापोभाविरुद्ध विवादास्पद टिप्पणी गरेपछिको यी दुईबीच पहिलो खेल थियो।

१५ महिना डोपिङ प्रतिबन्धबाट मुक्त भएर सारापोभाले टेनिस पुनः खेल्न शुरू गरेपछि बउचार्डले उनलाई ठग भनेर टिप्पणी गरेकी थिइन्। यो डोपिङ प्रतिबन्धपछि सारापोभाको दोस्रो डब्ल्यूटीए प्रतियोगिता थियो।

तर उनको पुनरागमन त्यति सफल बन्न सकेन। यसअघि अप्रिलमा स्टुटगार्ट ओपनमा सेमिफाइनलमा पुगेकी सारापोभा यसपटक भने दोस्रो चरणबाटै बाहिरिइन्।
विम्बल्डनमा मुख्य ड्रमा पुग्न उनले अब रोममा आगामी साता हुने प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनै पर्ने भएको छ।

सारापोभाले मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको पाएपछि गत वर्ष जनवरीदेखि नै उनलाई अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको थियो। उनलाई विश्व टेनिस महासंघले २ वर्ष प्रतिबन्ध लगाएको थियो। तर सारापोभाले कासमा निवेदन दिएपछि ९ महिना कम सजाय पाएकी थिइन्।

बउचार्डले अर्को चरणमा विश्व नम्बर दुई एन्जेलिक केर्बेरसँग खेल्नेछिन्। जर्मनीकी केर्बेर विश्व नम्बर एक सेरेना विलियम्सलाई शीर्ष स्थानबाट हटाउने प्रयासमा छिन्। अमेरिकी सेरेना गर्भवती भएकीले यस सिजनमा कुनै पनि प्रतियोगितामा सहभागिता हुने छैनन्।

बउचार्डले यसपछि उनलाई ठग भनेर टिप्पणी गरेकी थिइन्। उनले बताइन्– ‘उनी ठग हुन् र उनले फेरि खेल्न पाउनु हुन्न। डब्ल्यूटीएले उनलाई खेलाएर युवा खेलाडीमा नराम्रो सन्देस पठाएको छ। धोका दिनु अनि सजाय पाउनु त्यसपछि खुला हातले उनलाई स्वागत गर्नु यही नै डब्ल्यूटीले नराम्रो संस्कार विकास गरेको मेरो विचार छ।’

दुवैबीच शीतयुद्ध चले पनि २ घण्टा ५१ मिनेटपछि खेल समाप्त हुँदा खेलाडीहरूले नेटमा हात मिलाएका थिए। बउचार्डले भनिन्– ‘उनले राम्रो खेल्यौं भनिन्। र उनले कथित पुनरागमनमा साँच्चिकै राम्रो खेलिरहेकी छिन्। हामी उनको पुनरागमन कथित भन्न चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस्