प्रम र सभामुख अनुपस्थित



काठमाडौं, (नेस)
कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच दूरी बढेको असर कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पनि देखिएको छ।

६५औं कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख आनसरी घर्ती, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएन। उपप्रधानमन्त्रीहरू बिजयकुमार गच्छदार, बिमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि कार्यक्रममा सहभागी हुनुभएन।

मंगलबार सर्वोच्च अदालत परिसरमा आयोजित चियापान कार्यक्रममा मन्त्रिपरिषद्कातर्फबाट सरकारका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की मात्र सहभागी हुनभएको थियो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको थियो। कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमन श्रेष्ठ पनि चियापानमा सहभागी हुनुभएन।

कानुन दिवसमा सर्वोच्चले आयोजना गर्ने चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि, कानुन व्यवसायीलगायतका व्यक्तिलाई निमन्त्रणा दिने परम्परा रहेको छ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले अघिल्लो आइतबार प्रधानन्यायाधीश कार्कीकोविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। गत शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जवराको इजलासले संसद्मा दर्ता गरिएको प्रधानन्यायाधीश सुशिला कार्की विरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन अन्तरिम आदेश दिएलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की पुनः सर्वोच्च फर्किनुभएको हो।

सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले सभामुख ट्रमा सेन्टरमा पूर्वनिर्धारित कार्यक्रम रहेकाले कानुन दिवसको कार्यक्रममा सहभागी नहुनुभएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले राजनीतिक दलहरूको बैठकमा सहभागी हुनुपरेकाले व्यस्त भएर कानुन दिवसको कार्यक्रममा सहभागी हुन नसक्ने बताएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्