चोकचोकमा म्यादी प्रहरी



६० प्रतिशत दरबन्दीका प्रहरी चुनावमा गएकाले म्यादीवाट नगरको सुरक्षा

यमलाल भुसाल,बुटवल ।
केही दिन यतादेखि बुटवलका चोकचोकमा म्यादी प्रहरी बाक्लै देखिन थालेका छन् ।

बजारको चोकचोक र भित्रीसडकमा समेत म्यादी प्रहरीले सुरक्षा दिएको दृष्य देख्न थालिएको छ ।

निलो पोशाकमा हातमा लौरो छोपेर सिठी फुक्दै सुरक्षाका लागि म्यादी प्रहरी खटिएका छन् । स्थानीय निर्वाचनका लागि सरकारले अस्थायी रुपमा म्यादी प्रहरीलाई भर्ती गरेको हो ।

स्थायी दरवन्दीको रुपमा बुटवलमा कार्यारत प्रहरीहरु स्थानीय निर्वाचनका लागि अन्य जिल्लामा खटाईएकाले बुटवलमा म्यादी प्रहरी परिचालन गरिएको हो ।

बुटवलको सुरक्षालाई मध्येनजर गरी ७ सय म्यादी प्रहरी बुटवल उप महानगरपालिका भित्र खटाईएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी गराउनुभयो । आवश्यक तालिम दिएर तीनदिन यतादेखि बुटवलको विभिन्न स्थानमा म्यादी प्रहरीलाई सुरक्षाको लागि खटाईएको प्रहरी नायव उपरिक्षक मरासिनीले बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक मरासिनीका अनुसार ६० प्रतिशत दरवन्दीका प्रहरी अन्यत्र खटाईएकाले सुरक्षाका लागि म्यादी प्रहरी खटाईएको हो । सवारी चेकजांच, सवारी आगमनमा हुने भिडभाड, सडक लगायत आवश्यक पर्ने विभन्न क्षेत्रको सुरक्षामा परिचालन गरिएको छ ।

आवश्यक तालिम दिएर रातदिन आलोपालो गरेर सुरक्षामा खटाईएको प्रहरी नायव उपरिक्षक मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्