फाइनलमा एपीएफको सामना राइजिङसँग



पूजा निभा भाट विकेट लिएपछि खुसीमा फ्लाइङ किस दिँदै। तस्वीरः क्रिकेटिङ नेपाल

नेपाल समाचारपत्र
काठमाडौं
कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपीएफ महिला क्लब र राइजिङ क्रिकेट वुमनले उपाधिका लागि भिड्ने भएका छन्।
सोमबार भएका सेमिफाइनल खेलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि आमने सामने हुन लागेका हुन्।

पहिलो सेमिफाइनल खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराउँदै एपीएफ उपाधिनजिक पुगेको हो। त्यस्तै अर्को सेमिफाइनल खेलमा राइजिङ क्रिकेट वुमनले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाउँदै फाइनलमा स्थान बनायो।

अत्तरीयास्थित एपीएफको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ५० रन जोडेको थियो। टोलीका लागि करुणा भण्डारीले सर्वाधिक ४२ रन बनाइन्। २९ बलको सामना गरेकी करुणाले ६ चौका र १ छक्का प्रहार गरेकी थिइन्। त्यस्तै तीन चौकाको सहयोगले बिनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रनको योगदान दिए।

करुणाले दुई महत्त्वपूर्ण साझेदारी गर्नु नै टोलीले बलियो स्कोर बनाउन पाएको थियो। उनले ज्योतिसँग तेस्रो विकेटका लागि ३५ रन तथा ममतासँग चौथो विकेटका लागि २९ रनको साझेदारी गरेकी थिइन्। कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुँवरले चार ओभरमा २३ रन दिई ३ विकेट लिइन्।
जवाफमा कैलाली जिल्ला क्रिकेट एकेडेमीको ब्याटिङ धरासयी बनेको थियो। ६८ रनमा समेटिएको कैलालीका लागि नितु भण्डारीको एक मात्र दोहोरो अंकको रन बनेको थियो। उनले १७ रन बनाइन्। एपीएफको कसिलो बलिङ भएको थियो। बिनु बुढामगरले तीन तथा सरीता मगर र सीता रानामगरले २⁄२ विकेट हासिल गरे। त्यस्तै करुणा भण्डारी र रितु कनौजीयाले एक एक विकेट लिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी कप्तान बिनु बुढामगर वुमन अफ द म्याच भएर नगद ३ हजार हात पारिन्। त्यस्तै खेलमा एक⁄एक छक्का प्रहार गरेकी एपीएफकी करुणा भण्डारी र इन्दु वर्माले नगद ५⁄५ सय प्राप्त गरे।

पूजा अद्र्धशतकबाट चुकिन्
अर्को सेमिफाइनल खेलमा राइजिङ क्रिकेट वुमनले २० ओभरमा ३ विकेट क्षतिमा १ सय १९ रन बनाएको थियो। टोलीका पूजा निभा भाटले सर्वाधिक योगदान गरे पनि तीन रनले अद्र्धशतकबाट चुकिन्। त्यस्तै साम्पा मुखर्जीले ४२ रन बनाएर नटआउट रहिन्।
दोस्रो विकेटका लागि पूजा र साम्पाले ७२ रनको अर्धशतकीय साझेदारी गरेका थिए। झापाका लागि सरस्वती चौधरी २ र अनुराधा चौधरीले एक विकेट लिए। जवाफमा झापाको टोली १ सय १० रनमा रोकिएको थियो। ब्याटिङमा जमेकी पूजाले चार विकेट लिएकी थिइन्। म्यान अफ द वुमन बन्दै उनले ३ हजार नगद पनि प्राप्त गरिन्।

प्रतिक्रिया दिनुहोस्